
पोखरा स्पोर्ट्स । न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब केएनपी नेरोलेक नवौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको राउन्ड राउन्ड रोविन लिगमा शुक्रबार अपराजित रहँदै फाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा ४ टिम सहभागी राउन्ड रोविन लिगमा न्यु डायमन्डले डिफेन्डिङ च्याम्पियन नेपाल प्रहरीलाई २५–१४, २५–१९, २०–२५, २७–२९ र १५–१० ले पराजित ग¥यो ।
लगातार तेश्रो जितसंगै न्यु डायमन्ड लिगको शीर्ष स्थानमा रह्यो । न्यु डायमन्ड र प्रहरीले यो खेलअघि नै उपाधि भिडन्त पक्का गरिसकेका थिए । ३ खेलमा पहिलो हार व्यहोरेको प्रहरी लिगमा दोश्रो भयो । न्यु डायमन्डकी प्रतिभा माली ‘प्लेयर अफ दि म्याच’ घोषित भइन् ।
अर्को खेल नेपाल आर्मीले एपीएफलाई २७–२५, २१–२५, २५–२१ र २५–२२ ले हराउदै लिगमा सान्त्वना जित हात पा¥यो । यि दुई टिम तेश्रो स्थानका लागि खेल्ने छन् । आर्मीकी भावना डाँगी ‘प्लेयर अफ दि म्याच’ बनिन् ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठान, बालकोटको आयोजना तथा बहुराष्ट्रिय पेन्ट कम्पनी केएनपी नेरोलेकको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।
विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार र तेश्रो हुने टोलीले १ लाख २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार नगद पुरस्कार दिइने छ । विधागततर्फ ७ उत्कृष्ट खेलाडीलाई जनही २५ हजार नगदबाट पुरस्कृत गरिने छ । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई १५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।
