पोखरामा एटिएफ यू–१४ अण्डर टेनिस च्याम्पियनशिप प्रतियोगिता मंसिर ३ देखि

पोखरा, २ मंसिर ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा सोमबार देखि एशियन टेनिस फेडेरेशन (एटिएफ) यू–१४ अण्डर टेनिस च्याम्पियनशिप सर्किट १ र २ को प्रतियोगिता सुरु हुने भएको छ ।

प्रतियोगिताको अन्तिम तयारी बारे जानकारी दिंदैं कास्की जिल्ला टेनिस संघले प्रतियोगितका लागि पाकिस्तान, भारत, हङकङ र नेपालका सम्पूर्ण खेलाडीहरु पोखरा आइसकेको जनाएको छ । १० वर्ष भन्दा माथी र १४ वर्ष भन्दा मूनीका महिला तथा पुरुष दुबै तर्फको प्रतियोगिताका लागि १ सय भन्दा बढी खेलाडी पोखरा आएका हुन । पहिलो सर्किटमा पुरुष ३२ र महिला २५ र दोश्रो सर्किटमा पुरुष ३० र महिला २२ जना खेलाडीको सहभागिता रहनेछ । अन्य केही एशिया र यूरोपेली मुलकका खेलाडीले नाम दर्ता गरे पनि पोखरा काठमाडौको लामो यात्राका कारण अन्तिम समयमा रद्ध गरेको संघका सचिब नबिन चालिसेले बताए ।

एशियन टेनिस फेडेरेशनले बालबालिकालाई टेनिस खेलप्रति प्रेरित गराउन एशियन रेङकिङ समेत पोइन्टका आधारमा प्रदान गर्ने हुनाले पनि यो महत्वपूर्ण प्रतियोगिता रहेको प्रतियोगिताका निर्देशक अजय विष्टले बताएका छन । “एक जना खेलाडीले पराजयका बाबजुद पनि पाँच वटा खेल खेल्न सक्ने गरि एटिएफमा प्राबधान रहेको छ” उनले भने ।

नेपाल बाट यो प्रतियोगितामा एशियामा पुरुष जुनियर यू–१४ तर्फ २४ औं रेङ्किङ तथा नेपालका नं १ बरियता प्राप्त खेलाडी आरभ हाडा, एशियामा १६० औं रेङ्किङ तथा नेपालका नं २ बरियाता खेलाडी अकी राउत र एशियाका १६६ औं रेङ्किङ तथ नेपालका नं ३ बरियाता प्रणाम मानन्धरको सहभागिता रहनेछ ।

त्यसै गरि महिला तर्फ एशियामा ६० औं रेङ्किङ सलोनी तामाङ, ६७ औं रेङ्किङ सर्बानी श्रेष्ठ र ११२ रेङ्किङ इशा श्री शाहको पनि प्रतियोगितामा सहभागिता रहनेछ ।

केहि महिना अघि मात्रै आइटिएफ सिनियर च्याम्पियनशिप भब्यताका साथ सम्पन्न गरेको कास्की जिल्ला टेनिस संघले एटिएफ जुनिएर आयोजना गर्न लागेको हो । मंसिर १५ गते सम्म संचालन हुने एटिएफ जुनियर प्रतियोगिताका लागि खेलाडीलाई प्रशिक्षणको समय मिलाउन रातीमा समेत खेल्न मिल्ने गरि रंगशालाको टेनिस कोर्टमा पहिलो पटक फल्ड् लाइट समेत प्रयोग गरिने भएको छ ।

टेनिस संघका सचिब चालिसेका अनुसार यहि फागुनमा आइटिएफ अन्तर्गतको १८ वर्ष मुनीको प्रतियोगिता समेत पोखरामा हुने भएको छ । यो प्रतियोगितामा १ देखि १० औं नंम्बर सम्म बिजेता खेलाडी वाइल्ड कार्ड मार्फत सोझै ग्राण्डस्लाम खेल्न पाउने प्राबधान रहेको छ ।

प्रतियोगिता बारे जानकारी दिंदैं टेसिनस संघका अध्यक्ष दोर्जे लामाले पोखरामा आयोजना भइरहेका अन्तर्राष्ट्रिय प्रतियोगिताहरु पोखराका लागि मात्रै अबसरका रुपमा नभएर नेपालका लागि समेत रहेको बताए । “हामी यि प्रतियोगिता बाट धेरै कुरा सिक्ने छौं र अन्तर्राष्ट्रिय खेलाडी उत्पान गर्ने छौं” अध्यक्ष दोर्जेले भने–“टेनिसले यहि रुपले गति लिने हो भने १० वर्षमा धेरै नै पविर्तन पाउने छौं ।”

सो अबसरमा बोल्दै नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले खेल पर्यटन प्रवद्र्धनका लागि यो प्रतियोगिता महत्वपूर्ण हुने बताए । कास्की जिल्ला टेनिस संघका कोषाध्यक्ष राजु गुरुङले प्रतियोगितामा करिब ६ लाख २० हजार खर्च लाग्ने बताएका छन । प्रतियोगितालाई ट्रेक्रस इन होटलले मुख्य प्रायोजन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close