पोखरा महानगर अन्तर क्लबस्तरिय क्रिकेट शनिबारदेखि

पोखरा स्पोर्टस । पोखरा महानगर खेलकुद विकास समितिको आयोजना पोखरामा शनिबारदेखि पोखरा महानगरस्तरिय अन्तर क्लव टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा पोखराका ८ वटा क्लवहरुको सहभागिता रहने शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

पोखरा महानगर क्रिकेट संघको व्यवस्थापनमा हुने सो प्रतियोगितामा राइजिङ क्रिकेट क्लव, साँग्रिला क्रिकेट क्लव, पोखरा क्रिकेट क्लव, अरण्यज्योती क्रिकेट क्लव, कास्की क्रिकेट क्लव, आर के भिक्टोरी क्रिकेट क्लव, आदर्श युवा क्लव र लेकसाइड क्रिकेट क्लवले सहभागिता जनाउने भएका हुन् । प्रतियोगितामा वितेजा, उप–विजेता तथा विभिन्न विद्यागत खेलाडीहरुले पुरस्कार प्राप्त गर्नेछन् ।

पत्रकार सम्मेलनमा बोल्दै पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदारले नेपालमा क्रिकेटको लोकप्रियता निकै बढेको बताए । पोखरामा पनि क्रिकेट गतिविधी चलायमान बनाउन प्रतियोगिता आयोजना गरिएको उनको भनाई थियो ।

प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले महानगरको आयोजनालाई सफल बनाउन संघको सहयोग रहने बताए । आगामी दिनमा क्रिकेट विकासमा महानगरसंग हातेमालो गर्ने उनले जनाए । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिननाथ बरालले पोखराका क्रिकेट खेलाडीहरुमा थप निखारता ल्याउन यस्ता प्रतियोगिताहरु निरन्तर सञ्चालन हुनुपर्नेमा जोड दिए ।

पोखरा महानगर क्रिकेट संघका अध्यक्ष विरेन्द्र पुनले महानगरले यो प्रतियोगिता सञ्चालनका लागि २ लाख आर्थिक सहयोग प्रदान गरेको जानकारी दिंदै अपुग रकम संघले व्यवस्थापन गर्ने उल्लेख गरे । संघले आगामी दिनमा क्रिकेट विकासका लागि ग्रासरुटदेखिकै कार्यक्रम ल्याउने उनले बताए ।

सो अवसरमा पोखरा महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले पनि प्रतियोगिताका बारेमा जानकारी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close