छैटौं लक्ष्मणकुमार श्रेष्ठ स्मृति राष्ट्रिय इन्डोर आर्चरीमा रोशन र अशिम फाइनलमा

पोखरा, १३ असार । आर्मीका रोशन नगरकोटी र कास्कीका अशिम शेरचन छैटौं लक्ष्मणकुमार श्रेष्ठ स्मृति राष्ट्रिय इन्डोर आर्चरी प्रतियोगिताको पुरुष व्यक्तिगत रिकर्भमा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा रोशनले नेपाल प्रहरीका प्रेमप्रसाद पुनलाई ६–० तथा अशिमले खुम खुमाललाई ६–४ ले पराजित गरे ।

सोही स्पर्धाको महिलामा आर्मीकी आइशा तामाङले कास्कीकी विष्णुमाया लिम्बूलाई ७–१ तथा आर्मीकी मित्र राईले कास्कीकी रश्मी दर्लामीलाई ६–४ ले हराउदै फाइनलमा स्थान सुरक्षित गरे । पुरुष रिर्कभ टिममा आर्मीले कास्कीलाई ६–४ तथा नेपाल मगर समाजले प्रहरीलाई ६–२ ले पाखा लगाउदै फाइनल यात्रा तय गरे ।

पुरुष व्यक्तिगत कम्पाउन्डमा राजधानीका सनातन मल्लले कास्कीका योगेन्द्र शेरचनलाई १३७–१३६ तथा बेस्ट आर्चरी क्लबका प्रसदा आचार्यले थसाङ स्पोर्ट्स क्लबका रमेश भट्टचनलाई १३२–१३१ ले पन्छ्याउदै स्वर्ण भिडन्त पक्का गरे । पुरुष व्यक्तिगत स्ट्यान्डर्डमा अन्नपूर्ण आर्चरी क्लबका राजकुमार छन्त्यालले हिमालयन भोटे क्लबका राजु छन्त्याललाई ६–० तथा अन्नपूर्णका सुमन गुरुङले बेस्टका प्राण्जल राईलाई ६–० ले निराश पार्दै फाइनलमा स्थान बनाए ।

नेपाल आर्चरी संघले आयोजना गरेको प्रतियोगिताको महिला व्यक्तिगत स्ट्यान्डर्डमा अन्नपूर्णकी अनुशा गुरुङले आर्मीकी कल्पना अधिकारीलाई ६–० तथा बेस्टकी आश्ना लामाले आर्मीकी मन्जु बजगाईंलाई ६–२ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरे । पुरुष स्ट्यान्डर्ड टिममा अन्नपूर्णले थसाङ स्पोर्ट् क्लबलाई ५–३ तथा आर्मीले हिमालयनलाई ६–२ ले पाखा लगाउदै फाइनल यात्रा तय गरे ।

स्ट्यान्डर्ड मिक्समा अन्नपूर्णका राजकुमार छन्त्याल र अनुशा गुरुङको जोडीले एपीएफका लक्षुमन तामाङ र गीता खत्रीको जोडीलाई ६–० तथा बेस्टका प्राण्जल राई र आश्ना लामाको जोडीले आर्मीका कमल दानी र मन्जु बज्गाईंको जोडीलाई ६–४ ले हराउदै फाइनल भिडन्त पक्का गरे ।

प्रतियोगिताको राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगिताको पुरुषमा ४७ र महिलामा १९ गरी ६६ खेलाडी सहभागी छन् । शनिबार सम्पन्न हुने प्रतियोगितामा ८ स्पर्धा समावेश छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close