पोखरा रंगशालामा खेलाडीहरु झुमे सप्तरङ्गी अविरमा, जिते पुरस्कार (फोटो फिचर)

पोखरा स्पोर्टस । रङ्गहरुको पर्व होली पर्वलाई पोखरेली खेलाडीहरुले खुसीयाली साटासाट गरी मनाएका छन् ।

होली विशेष पर्वको अवसरमा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीद्वारा आयोजित विविध खेलकुद कार्यक्रममा खेलाडीहरुले हर्षाेल्लासका साथ मनाएका हुन् । उनीहरुले रङ्ग खेलेर होली मात्रै मनाएनन् सो अवसरमा आयोजित विभिन्न खेलकुद सहभागि हुँदै पुरस्कार समेत जिते ।

विविध खेलकुद कार्यक्रममा आयोजित भलिबल प्रतियोगिता भने खेलकुद संघको टिमले जितेको छ । क्षेत्रिय खेलकुदका कर्मचारी र विभिन्न खेलकुद संघका पदाधिकारी सम्मिलित टिमले खेलकुद पत्रकारको टिमलाई २–० को सोझो सेटमा पराजित गर्दै खसी उपहार पाएको छ । यस अघि भएको खेलमा खेलकुद पत्रकारको टिमले पर्यटन व्यवसायी सम्मिलित टिमलाई २–१ को सेटमा पराजित गरेको थियो ।

यस्तै परम्परागत ठेलो खेलतर्फ मनोज श्रेष्ठले जितेका छन् भने दोस्रो स्थान किरण सुनारले हात पार्न सफल भए । मनोजले नगद ३ हजार र किरणले नगद २ हजार हात पारे । नृत्य महिलातर्फ फेन्सिङ खेलकी धनमाया गुरुङ र अभिमान गुरुङले जिते उनीहरुले जनही नगद ४ हजार हात पारे । त्यस्तै बेलुन फुटाउने खेलतर्फ खुसिमान गुरुङ र अष्मिता गुरुङले जिते उनीहरुले जनही नगद ३ हजार हात पार्दा घैटो फुटाउनेतर्फ धनमायाँ गुरुङले जितिन । उनले नगद ३ हजार जितिन् । म्यूजिकल चियरतर्फ ऋतिका पोखरेल प्रथम हुँदै ३ हजार र अष्मिता गुरुङ दोश्रो हुँदै क्रमश ३ र २ हजार नगद हात पारे ।

कार्यक्रममा सितेरियो करातेका खेलाडी विष्णु नेपालीलाई उपचार खर्चका लागि नगद १५ हजार प्रदान गरिएको थियो । उनको उपचारमा थप सहयोग गर्न मदन भण्डारी स्पोर्टस एकेडेमीले थप नगद ५ हजार प्रदान गरेको छ ।

सो अवसरमा हालै सम्पन्न गणेशमान सिंह स्मृती फेन्सिङमा उत्कृष्ट खेल प्रदर्शन गर्ने प्रतिक्षा राना मगरलाई सहित पदक विजेता खेलाडी तथा प्रशिक्षक रेख मायाँ गुरुङलाई सम्मान गरिएको थियो । मदन भण्डारी स्पोर्टस एकेडेमीकोतर्फबाट प्रतिक्षालाई ५ हजार नगद प्रदान गरिएको थियो ।

त्यसै गरी ललितपुरमा हालै सम्पन्न फुल कन्ट्याट करातेमा उत्कृष्ट प्रदर्शन गर्दै खुला तौलतर्फ प्रथम हुन सफल खेलाडीलाई सम्मान गरिएको थियो भने एकेडेमीको तर्फबाट बधाई दिंदै राखेप सदस्य तथा एकेडेमीका केन्द्रिय उपाध्यक्ष राजेश कुमार गुरुङले नगद ५ हजार प्रदान गरेका थिए ।

कार्यक्रममा राखेप अन्तर्गत पश्चिमाञ्चल क्षेत्रिय खेलकुदमा करिव २८ वर्ष देखि कार्यरत उशुका प्रशिक्षक अरुण दत्तलाई मायाँको चिनो दिएर विदाई गरिएको थियो । उनले आफ्नो पारिवारिक समस्याका कारण आफ्नो जागिर छोडेका थिए । उनलाई राखेपका सदस्य राजेश गुरुङ, क्षेत्रिय खेलकुदका लक्ष्मण योगी, निर्देशक कृष्ण तिमिल्सिना, जिल्ला खेलकुदका अध्यक्ष तोरण बहादुर बाँनिया, क्षेत्रिय खेलकुद लेखा प्रमुख डिवी नेपाली लगायतले विदाई गरेका थिए ।

सो अवसरमा राखेप सदस्य गुरुङ, प्रदेश खेलकुदका सदस्य सचिव तेज बहादुर गुरुङ, जिल्ला खेलकुदका अध्यक्ष बाँनिया, नेपाल भलिवल संघका उपाध्यक्ष याम गुरुङ, पोखरा महानगर खेलकुदका अध्यक्ष दिपक बहादुर गोदार लगायतले विजेता खेलाडीहरुलाई नगद वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close