
पोखरा स्पोर्टस । कर्णाली प्रदेशले आसन्न दशौं राष्ट्रिय खेलकुद तयारीका लागि विभिन्न ५ खेलका खेलाडीहरुलाई तयारी स्वरुप जनही नगद रु ५ हजार प्रोत्सहान भत्ता प्रदान गर्ने भएको छ ।

कर्णाली खेलकुद परिषदको १५ औं बोर्ड बैठकले उक्त निर्णय गरेको परिषदका सदस्य सचिव बिएम सञ्ज्यालले जानकारी दिएका हुन् । बैठकमा परिषदका संरक्षक समेत रहेका कर्णाली प्रदेशका मुख्यमन्त्रि राजकुमार शर्माले दशौं राष्ट्रिय खेलकुदमा छनौट हुने खेलाडीहरुलाई प्रोत्साहन गर्न र क्रकेट खेल बिकासको लागि तत्कालिन र दिर्घकालिन योजना तयार गर्न निर्देशन दिएका छन् ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि कर्णाली प्रदेशबाट छनौटमा परेका ‘ए’ श्रेणीका पाँच वटा खेल एथलेटिक्स, उसु, आइटिएफ, कराँते र तेक्वान्दोका खेलाडीहरुलाई दैनिक प्रशिक्षण गरेवापत खाजा खर्च स्वरुप मासिक रु. ५ हजार उपलब्ध गराउने भएको सदस्य सचिव सञ्ज्यालले जानकारी दिए ।
यसरी मासिक रकम उपलब्ध गराउँदा कर्णाली प्रदेश खर्च मापदण्ड अनुसार दैनिक प्रशिक्षण गरेवापत खाजा खर्च रु २ सय प्रति दिनका दरले शनिवार तथा प्रशिक्षण नभएको दिन घटाई बढीमा २५ दिन बरावरको हुन आउने रकम दैनिक हाजिरी प्रमाणित गरि पेश गरेको आधारमा बढीमा ५ हजार भुक्तानि दिइने सदस्य सचिवले बताए ।


