
केशव पाठक/पोखरा,
नेपाल ओलम्पिक कमिटी (एनओसी) को कार्यकारिणी समितीको तेश्रो पुर्ण बैठकले ऐतिहासिक निर्णय गर्दै रुक्म शम्सेर राणालाई समेत एउटै छाता भित्र गोलवन्द गरेको छ ।
एनओसीको लामो समय देखिको बिबाद समाधानमा यो निर्णय महत्वपुर्ण रहेको एनओसीका अध्यक्ष तथा प्रतिनिधी सभाका सांसद जिवनराम श्रेष्ठले बताएका छन । अध्यक्षको भनाई संगै संधै दुई धुर्वमा रहेको एनओसी एक ठाउँमा उभिएको छ ।
पोखरामा सोमबार देखि शुरु भएर मंगलबार मध्यान्ह सम्पन्न बैठकले एनओसीका पुर्व अध्यक्ष राणा सहित, धुर्ब बहादुर प्रधानलाई मानार्थ अध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको अध्यक्ष श्रेष्ठले बताए ।
विगत १२ वर्ष देखि नेपालमा दुई वटा एनओसी रहँदै, विभिन्न दाउपेच संगै काननी लडाँई समेत झेल्दै आएको विवाद समाधानमा महत्वपुर्ण निकास रहेको ओलम्पिकका उप महासचिब पिताम्बर तिम्सिनाले बताए । “यो ऐतिहासिक निर्णय हो, यसले महत्व बोकेको छ” उनले भने–“अब ओलम्पिक एक भएर अघि वढ्न यो निर्णयले भुमिका खेल्छ ।”
नेपाली खेलकुद जहिले पनि फुटेको र स्वार्थपरक दृष्टिकोणले चलेको हुनाले आशतित सफलता हासिल गर्न नसकेको बताउँदै एनओसीका महासचिब निलेन्द्रराज श्रेष्ठले खेलकुदमा छलाङ मार्न यो निर्णय ऐतिहासिक भएको उल्लेख गरे । “खेलकुदमा नयाँ सन्देश संगै सकारात्मक प्रभाव यो निर्णयले पक्कै गर्छ” उनले थपे–“अव फुटेर होइन जुटेर खेलकुद बिकासमा अघि बढ्नु पर्छ ।”
यस संगै अनएओसी अव एनओसी संघिय संरचना समेत अघि बढने निर्णय बैठकले गरेको छ । बैठकका निर्णयहरु जानकारी गराउदै अध्यक्ष श्रेष्ठले प्रत्येक प्रदेशमा संयोजक तोकिएको बताए । “अव खेलकुद बिकासमा प्रदेश सरकारको समेत अहम भुमिका रहेको छ” उनले भने–“प्रदेश खेलकुद संघ र प्रदेश सरकार संग समन्वय गरेर अघि बढ्नु पर्ने भएकोले यसलाई मुर्तरुप दिएका हौं ।”
पोखरामा एसियाली चिल्ड्रेन गेम्स २०२० आयोजना गर्न संघिय र प्रदेश सरकार संग समेत आग्रह गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए । “कोरोनाको प्रभाव रोकिएपछि यसलाई मुर्तरुप दिन ओलम्पिकले भुमिका खेल्ने छ” उनले भने ।
एनओसीको इतिहासमा राजधानी बाहिर पहिलो कार्यसमितीको पुर्ण बैठक पोखरामा बसेको हो ।
