कास्कीको माछापुच्छ्रे गाउँपालिकामा राष्ट्रपति रनिङशिल्ड शुरु

पोखरा, कास्कीको माछापुच्छ्रे गाउँपालिकामा आइतबार देखी “राष्ट्रपति रनिङ शिल्ड अन्तर विद्यालय खेलकूद प्रतियोगिता २०७६” शुरु भएको छ । रनिङ शिल्ड अन्तर्गत गाउँपालिका भित्रका सामूदायिक तथा संस्थागत माध्यमिक विद्यालयहरुबीचको स्पर्धामा एथ्लेटिक्स, भलिबल लगायतका खेल समावेश गरिएको छ ।

गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले प्रतियोगिता उद्घाटन गर्दै विद्यालयस्तरदेखीनै देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन तथा खेलाडीको खोजी गर्दै सम्वर्धन र प्रवर्धन गर्ने नीति अनुसार प्रतियोगिता गरिएको बताए । गाउँपालिकाले खेलकूदलाई प्राथमिकतामा राखेको बताउँदै अध्यक्ष गुरुङले महेन्द्र माध्यमिक विद्यालयको खेलमैदानको स्तरोन्नती गरी सुविधासम्पन्न पालिकास्तरीय खेलग्रामको रुपमा विकास गरिने स्पष्ट पारे ।

आज भएको एक हजार ५०० मिटर छात्र दौडमा ज्ञानज्योति बोर्डिङका विकेक परियार प्रथम, महेन्द्र माविका मन्दिप नेपाली द्धितीय तथा शारदा माविका केशव जिसी तृतीय भए । सोही विधाको स्पर्धामा छात्रातर्फ उदय माविका विनु विक र रितु भण्डारी क्रमशः प्रथम तथा द्धितीय र बराह माविका कविता अधिकारी तृतीय भए ।

त्यसैगरि १०० मिटर छात्र दौडमा बराह माविका सागर परियार प्रथम, शारदा माविका केशव जिसी द्धितीय र महेन्द्र माविका सरोज नेपाली तृतीय भए । विद्यालयस्तरीय मार्चपासमा शारदा मावि प्रथम, महेन्द्र मावि द्धितीय र गौरीशंकर मनिलाल माविले तेस्रो स्थान हासिल गरे ।

विजयी खेलाडीहरुलाई गाउँपालिका अध्यक्ष गुरुङ, वडा नं ४ का वडाध्यक्ष पूर्णबहादुर शाही, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिँह गुरुङ, नेपाल भलिबल संघका वरिष्ठ उपाध्यक्ष यामबहादुर गुरुङ तथा पूर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी लेखनाथ लम्साल, खेल मूल आयोजक समितिका सचिव गोविन्द अधिकारी लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा १००, २००, ४००, ८०० र १५०० मिटर छात्र/छात्रा दौड, ४०० मिटर छात्र/छात्रा रिले दौड, छात्र/छात्रा हाइजम्प, लङ्गजम्प, ट्रिपल जम्प, ज्याभलिन थ्रो, सटपुट, छात्र/छात्रा भलिबल तथा कवड्डी समावेश गरिएको वडाध्यक्ष शाहीले जानकारी दिए । प्रतियोगिता मंगलबार सम्पन्न हुँदैछ ।

सरकारले विद्यालयतहबाटनै खेलकूद प्रतिभाको खोजी गर्ने लक्ष्य सहित गतवर्षदेखी देशको सङ्घीय संरचना अनुसार स्थानीय, प्रदेश र सङ्घस्तरीय राष्ट्रपति रनिङ शिल्ड आयोजना गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close