पुजा महतोको कप्तानीमा एसीसी राइजिङ स्टार्स २०२६ का लागि टोली घोषणा

पोखरा स्पोर्ट्स । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी एसिया कप राइजिङ स्टार्स महिला २०२६ का लागि आफ्नो टोलीको घोषणा गरेको छ । टोलीको कप्तानी पुजा महतोले सम्हाल्नेछिन् ।

थाइल्याण्डमा आयोजना हुने उक्त प्रतियोगितामा नेपालले समूह चरणमा पाकिस्तान ‘ए’, युएई र भारत ‘ए’ जस्ता बलिया टोलीहरूसँग प्रतिस्पर्धा गर्नेछ । कप्तान पुजा महतोको नेतृत्वमा युवा खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा आफूलाई प्रमाणित गर्ने लक्ष्य लिएको क्यानले जनाएको छ ।

टोलीमा अनुभवी तथा उदीयमान खेलाडीहरूको सन्तुलित संयोजन रहेको छ । बिन्दु रावल, रुबिना क्षेत्री र रोमा थापा जस्ता अनुभवी खेलाडीहरूले टोलीलाई मजबुत बनाउने अपेक्षा गरिएको छ भने सम्झना खड्का, रिया शर्मा र सिता राना मगर जस्ता युवा खेलाडीहरूले टोलीमा नयाँ ऊर्जा थप्ने विश्वास लिइएको छ ।

नेपाल महिला टोलीमा कप्तान पुजा महतो सहित बिन्दु रावल, सम्झना खड्का, रुबी पोदार, रुबिना क्षेत्री, कविता जोशी, कविता कुँवर, सिता राना मगर, रिया शर्मा, रोमा थापा, सुमन बिष्ट, अनु कडायत, मनीषा उपाध्याय, काजल श्रेष्ठ र सिमाना केसी रहेका छन् ।

नेपालले फेब्रुअरी १३ मा पाकिस्तान ‘ए’ संग, फेब्रुअरी १५,मा युएई विरुद्ध र फेब्रुअरी १७ मा भारत ‘ए’ सँग खेल्ने तालिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close