
पोखरा स्पोर्टस । विभागीय टोली नेपाल आर्मी राष्ट्रिय हक्की प्रतियोगिताको पुरुषमा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
समूह ‘ए’ को लिग खेलमा अपराजित रहँदै आर्मी सेमिफाइनलमा पुगेको हो ।
च्यासल मैदानमा आर्मीले कोशी प्रदेशलाई ३–० गोलले पराजित गरेको छ । आर्मीका लागि काशीराज राई, दीपेन्द्र ऐर र राजेन्द्र कार्कीले समान १–१ गोल गरे । राजेन्द्र ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
यसअघि समूह चरणको खेलमा आर्मीले गण्डकी प्रदेश र मधेश प्रदेशलाई हराएको थियो ।
आइतबार तीन खेल हुनु पर्नेमा वर्षाका कारण २ खेल मात्र सम्भव भएको संघकी महासचिब सुवर्ण श्रेष्ठले जनाएकी छन् ।
पुरुषतर्फ नेपाल प्रहरी र बागमती प्रदेश तथा महिलामा आर्मी र गण्डकीबीचको खेल वर्षाले गर्दा प्रभावित भयो । यि दुई खेलसंगै सोमबार ५ खेल हुनेछ ।
बाँकी तीन खेल पुरुषतर्फ गण्डकी र मधेश तथा कर्णाली प्रदेश र एपीएफ क्लबबीच हुनेछ । महिलामा मधेशले बागमती विरुद्ध प्रतिस्पर्धा गर्ने महासचिब श्रेष्ठले जानकारी दिइन् ।
