
पोखरा स्पोर्टस । पोखरा महानगर पालिका वडा नं १० स्थित रामघाट यूवा क्लबले आजबाट पोखरा रंगशालामा ग्रासरुट फुटबल प्रशिक्षण औपचारिक रूपमा सुरूवात गरेको छ । खेलकुद, सामाजिक कृयाकलाप लगायत विभिन्न क्षेत्रमा कृयाशिल क्लबले फुटबलमा विगतको आफ्नो शाख फर्काउन ग्रासरुट फुटबल प्रशिक्षण सुरूवात गरेको क्लबका संरक्षक नुना गुरूङले बताए ।

विभिन्न सहयोगीहरुबाट फुटबल प्रशिक्षणका लागि आवश्यक खेल सामाग्री हस्तान्तरण सहित पोखरा रंगशालामा सुरूवात भएको कार्यक्रममा बोल्दै संरक्षक गुरूङले आफ्नै वडा भित्र रहेको पोखरा रंगशालाको भरपुर उपयोग गर्दै खेलाडी उत्पादनमा क्लबले आफ्नो अभियान सुरू गरेको बताए ।
उनले भने–“हामीले विगतमा स्थानियसहित धेरै ठाउँमा फुटबल जितेर आएका सुखद क्षणहरु छन् । हामी त्यो क्षणहरु अव यूवा पुस्तालाई हस्तान्तरण गर्न चाहन्छौं ।” यो प्रशिक्षण कार्यक्रमले कास्कीमा खेलाडी उत्पादनका लागि कोशेढुङ्गा सावित हुने बताउँदै संरक्षक गुरूङले सहयोगी मनहरुकै कारण यो सम्भव भएको जनाए । “अब क्लबले नयाँ इतिहास स्थापित गर्ने गरी योजनावद्ध रुपमा अघि बढेको छ । यसका लागि सबैको सहयोगको अपेक्षा गरेका छौं”, संरक्षक गुरूङले भने ।
नेपाली खेलकुदमा फोहोरी राजनिती भएकै कारण खेलकुद क्षेत्र खस्किएको र यूवाहरु पलायन भएको वुल्स मेन क्लबका अध्यक्ष समेत रहेका गुरूङले भने–“यूवाहरुले यो विषय बुझिसकेका छन् । खेलकुदलाई बलियो बनाउन खेलकुद क्षेत्रकै व्यक्तिले खेलकुद हाक्नु पर्छ । चाहे त्यो राजनिति जति सुकै फोहोर होस । राम्रो कामका लागि अब फोहोरमा हात हाल्ने समय आएको छ ।”
त्यस्तै कार्यक्रममा आफ्ना भनाई राख्दै जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरूङले फुटबल खेलाडी उत्पादनका लागि रामघाट यूवा क्लब संग सहकार्य गरेको बताए । उनले पोखरा रंगशालालाई सबैको साझा खेल मैदानको रुपमा अघि बढाउँदै सबै संग सहकार्य गरिनेसंगै फुटबल खेलाडी उत्पादन गरी फुटबलको जग बलियो बनाउने उल्लेख गरे । क्लबले पोखरा रंगशालास्थित बाहिरी फुटबल मैदानलाई प्रशिक्षणको रुपमा सञ्चालन गर्न सहमति गरिएको अध्यक्ष गुरूङले जानकारी दिंदै रंगशाला वरपर रहेका क्लबहरुलाई समेत यो अभियानमा संगै अघि बढाउने उल्लेख गरे ।
प्रशिक्षण कार्यक्रम सञ्चालनका लागि क्लबले खेलकुद उपसमितिका संयोजक धिरज गुरूङलाई संयोजक तोकेको छ भने संरक्षक नुना गुरूलाई सह संयोजक तोकेको छ ।
कार्यक्रममा संयोजक गुरुङले बल, क्लबका बिदेश विभाग प्रमुख प्रशान्त गुरूङले जर्शी, गण्डकी प्रदेश फुटबल संघका महासचिब विनोद गुरूङले फुटबल र विफ, सहयोगी चन्द्रमान गुरूङ र रुपक गुरूङले जनही नगद ५–५ हजार हस्तान्तरण गरेका थिए ।
क्लबका अध्यक्ष किरण गुरूङ ‘गुन्जे’को अध्यक्षतामा भएको कार्यक्रममा क्लबका प्रवक्ता एवं कानुनी सल्लाहकार उदिम गुरूङले समेत आफ्ना भनाई राखेका थिए ।
क्लबले हाल २० जनाबाट ग्रासरुट प्रशिक्षण सुरूवात गर्ने जनाएको छ । जसको मुख्य प्रशिक्षकमा सन्तोष केसी रहेका छन् भने सहायक प्रशिक्षकमा चिना राना, प्रकाश तामाङ र विजय गुरूङ रहेको छन् ।
