
पोखरा स्पोर्टस । नेपाली इक्वेस्ट्रियन (घोडचढी) खेलाडीहरुले पहिलो पटक अन्तर्राष्ट्रिय प्रशिक्षणको अवसर पाएका छन् ।
कतार ओलम्पिक कमिटिको सहकार्यमा नेपाली चार जना खेलाडीहरुले सो अवसर पाएको नेपाल इक्वेस्ट्रियन संघका अध्यक्ष रवी राजकर्णिकारले जानकारी दिएका हुन् । उनले भने–“यो अभुतपूर्व अवसर नेपालले पहिलो पटक पाएको छ । म कतार ओलम्पिक कमिटि र विशेष गरी कतार इक्वेस्ट्रियन संघका अध्यक्ष बदर अहमद अल दारविस तथा महासचिव शेख अकमदलाई विशेष आभार व्यक्त गर्न चाहन्छु ।”
नेपाली खेलाडीहरुले पाएको यो प्रशिक्षणको अवसरले घोडचढी खेलको विकासमा नयाँ आयाम थप्ने बताउँदै अध्यक्ष राजकर्णिकारले भने–“पहिलो पटक चार जनाले यो अवसर पाएका छन् । उनीहरुको प्रशिक्षण सकिए लगतै हामी थप पाँच जनालाई कतार प्रशिक्षणमा पठाउने छौं ।” दोश्रो चरणमा यहि वर्षको अप्रिलमा पाँचजनालाई कतार पठाउने संघले तयारी गरिरहेको उनले बताए ।
आगामी २०२६, २०३० र २०३४ मा आयोजना हुने एसियाली खेलकुदमा नेपालले पदक जित्ने आधार तय गर्न दिर्घकालिन सोचका साथ नेपाली खेलाडीहरुलाई अन्तर्राष्ट्रिय प्रशिक्षणको अभियान सुरु गरेको अध्यक्ष राजकर्णिकारले पोखरा स्पोर्टसलाई बताए । उनले भने–“यो दिर्घकालिन योजनाका साथ सुरु गरिएको अभियान हो । हामी नेपाली खेलाडीहरुलाई अन्तर्राष्ट्रिय ऐरिनामा नेपालको झण्डा फहराएको हेर्न आतुर छौं ।”
कतारमा जान लागेका चार जना खेलाडीहरु नेपाली सेनाका हुन् भने एक जना विन्ड हर्स स्टेबलका हुन । नेपाली सेनाका गोविन्द बहादुर खड्का, जगदीश घिसिङ, रामकृष्ण अधिकारी र विन्ड हर्स स्टेबलका निरोज केसी पहिलो चरणमा कतार जना लागेका हुन् ।
कतार जान लागेका खेलाडीहरुलाई नेपालस्थित कतारका राजदुत मिशाम खल अन्सारीले बिदाई गरेका थिए । राजदुतावासमा आयोजित कार्यक्रममा राजदुत अन्सारीले यस प्रकारका कार्यक्रमहरुले दुई देश बीचको दौत्य सम्वन्ध प्रगाढ बनाउन थप सहयोग पुग्ने बताए ।
त्यस्तै नेपाल ओलम्पिक कमिटीमा आयोजित एक छुट्टै बिदाई कार्यक्रममा बोल्दै अध्यक्ष जिवनराम श्रेष्ठले खेलाडीहरु संसारको जुन सुकै स्थानमा पुगे पनि ओलम्पिक यात्रा भित्रको एकता र सहकार्यतामा जोड दिनु पर्ने बताए । उनले यो प्रशिक्षणको कार्यक्रमले राष्ट्रहरु बीचको सम्वन्धलाई थप प्रगाढ बनाउन खेलकुद कुटनितीले अझै प्रभावकारी भूमिका खेल्ने बताए ।
बिदाइ कार्यक्रममा कमिटीका महासचिव निलेन्द्र राज श्रेष्ठ, कार्यालय सचिव सुजन लाल श्रेष्ठ, नेपाल इक्वेस्ट्रियन संघका अध्यक्ष राजकर्णिकार तथा संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियोे ।
