
पोखरा, ५ असौज ।
पोखराको प्रतिष्ठित संस्था बगर भाईखलक द्वारा आयोजित “स्व रन्जित गुरुङ स्मृती अन्तर्राष्ट्रिय एट ए साइड फुटबल भेट्रान प्रतियोगिता–२०७४“को सातौं संस्करणमा ५ लाख ९४ हजार २ सय ४१ रुपैयाँ आम्दानी गरेको छ । प्रतियोगिता स्व. रन्जित गुरुङको स्मृतीमा २०७४ माघ २–६ गते सम्म संचालन भएको थियो ।
बगर भाइ खलक बाट प्राप्त जानकारी अनुसार सातौँ संस्करणमा १५ लाख ७० हजार ७६ रुपैयाँ सहयोग उठेको रकम मध्ये ९ लाख ७५ हजार ८ सय ३५ रुपैयाँ खर्च भएको जनाएको छ । संस्थाले अन्य केही प्रायोजित रकम उठ्न बाँकी रहेको उल्लेख गरेको छ ।
बगर भाइ खलकले “स्वास्थ्यका लागि एक घन्टा व्यायाम, नागरिकका लागि नौलो आयाम” भन्ने उद्घोषका साथ नागरिकहरुलाई स्वास्थ्य र खेलप्रतीको भावना जगाउँदै तथा सामाजिक क्षेत्रमा कृयाशिल रहँदै आएको छ ।
४० वर्ष देखि माथी ६५ वर्ष उमेर समुहले सहभागिता जनाउने यस प्रतियोगितामा विजेताले नगद रु. १ लाख, रनिङ शिल्ड, पदक र प्रमाणपत्र, द्वितिय पुरस्कार विजेताले नगद ५० हजार, ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेका थिए । प्रतियोगितामा आयोजक संस्था बगर भाइ खलकले सिएमजी काठमाडौलाई फाइनलमा १–० ले पराजित गर्दै उपाधी चुमेको थियो ।
प्रतियोगिता सम्पन्न गर्न पूर्व राष्ट्रिय खेलाडी स्व. रन्जित गुरुङका परिवारले मुख्य प्रायोजन गरेको थियो पोखरा बगर निवासी इन्द्र गुरुङले आफ्नी आमा शिब कुमारी गुरुङको स्मृतीमा प्रथम पुरुस्कार रु १ लाख नगद प्रायोजन गरेका थिए भने पोखरा फुलबारी निवासी अमित जोन गुरुङले आफ्नी हजुरआमा केसुभा गुरुङको स्मृतीमा दोश्रो पुरुस्कार राशी रु ५० हजार प्रायोजन गरेका थिए ।
प्रतियोगितामा सर्वाधिक गोलकर्ता ट्रफी सहित नगद ५ हजार फाइनल म्याचको म्यान अफ दि म्याच ट्रफी सहित नगद पांच हजार, सर्वोत्कृष्ट खेलाडी, अनुशासित टिम, प्रतियोगितामा सहभागी सवै भन्दा जेष्ठ खेलाडीलाई सम्मान एवं हरेक खेलका म्यान अफ दि म्याचलाई बिशेष पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा छिमेकी मुलुक भारतका दुइ टिम सहित नेपालका विभिन्न जिल्ला र स्थानिय गरि २१ टिमको सहभागिता रहेको थियो ।
सातौ संस्करणमा कार्यक्रममा सिने कलाकार तथा भेट्रान फुटबल खेलाडी धिरेन शाक्य, पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक बाल गोपाल महर्जन र हरी बहादुर कार्की एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ, उपाध्यक्ष इस्वर गुरुङ (चन्द्र), सदस्य हिटलर घले र राधा गुरुङलाई सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष दिल बहादुर गुरुङले ‘भेट्रानहरुलाई मैदानमा उतारेर यो प्रतियोगिता मार्फत तिन वटा पुस्तालाई संगै हिडाउने प्रयासको थालनी’ भएको बताए । उनले भने–‘हाम्रो प्रतिवद्धता नै समाजमा खेलकुदका माध्यम द्वारा स्वस्थ्य समाजको निर्माण गर्नु हो ।’ यस प्रतियोगीताको मूख्य उद्देश्य अग्रजहरुलाई सम्मान, समकालिनलाई व्ययाम र नयाँ पिढीलाई खेल र स्वास्थ्य प्रति जागरुक वनाउनु पनि रहेको अध्यक्ष गुरुङले बताउँदै आठौ संस्करणलाई थप भब्य बनाउने समेत बताए ।
फायल तस्बिर