
पोखरा स्पोर्टस । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भुतपूर्व खेलाडी मञ्च नेपालले अक्सिजन ग्यास प्लान्ट स्थापनाका लागि बतास फाउण्डेशनलाई १ लाख २५ हजार नगद सहयोग हस्तान्तरण गरेको छ ।
कोभिड १९ को महामारी सँगै अक्सिजन अभावका कारण धेरैको ज्यान जोखिममा पर्न थाले पछि बतास फाउण्डेशनले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन ग्यास प्लान्ट स्थापना गर्न लागेको हो । सोमबार मञ्चका अध्यक्ष तेज बहादुर गुरुङ, कार्यवाहक अध्यक्ष हरि प्रसाद पराजुली र सह कोषाध्यक्ष महेश पौडेलको टोलीले फाउण्डेशनका सञ्चार सहकार्य रहेको एभरेष्ट एफ एमका सम्पादक दिपेन्द्र श्रेष्ठलाई नगद १ लाख २५ हजार हस्तान्तरण गरेको हो ।
अक्सिजन ग्यास प्लान्ट स्थापनाका लागि मञ्चको तर्फबाट नगद १ लाख र मञ्चका ६ जना आजिवन सदस्यहरुले जनही नगद ५/५ हजार सहयोग गरेका छन । नगद सहयोग गर्नेहरुमा मञ्चका अध्यक्ष तेज गुरुङ, महासचिव खेम गुरुङ, कार्य समिती सदस्य भरत कुमार आले, कार्य समिती सदस्य हरिश्वर पोखरेल र आजिवन सदस्य मैयाँ देवी पराजुली रहेका छन । सोही कार्यका लागि मञ्चका सहकोषाध्यक्ष महेश पौडेलले नगद ५ हजार सम्पादक श्रेष्ठलाई हस्तान्तरण गरे ।
मञ्चद्वारा प्रदान गरिएको रकम वुझ्दै सञ्चार संयोजक श्रेष्ठले फाउण्डेशनका तर्फबाट आभार व्यक्त गरेका छन । मञ्चका अध्यक्ष गुरुङले फाउण्डेशनको अभियानमा अग्रज खेलाडीहरुको छाता संस्था जोडिन पाउँदा खुसी लागेको बताए ।


