आर्चरीको बन्द प्रशिक्षण पोखरामा शुरु, ४ जना खेलाडी छनोट हुन बाँकी, पोखरामा सुविधा सम्पन्न आर्चरी खेल मैदान

पोखरा, १८ साउन । नेपालमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तरगत आर्चरीको बन्द प्रशिक्षण पोखरामा शुरु भएको छ । राष्ट्रिय खेलकुद परिषदले पोखरा रंगशालामा सुविधा सम्पन्न आर्चरीको खेल मैदान निर्माण सम्पन्न गरिसकेको छ । जुन स्थलमा आर्चरीको साग खेल समेत आयोजना हुँदैछ ।

पोखरामा साउन १६ गते बाट शुरु भएको प्रशिक्षणमा ४ जना खेलाडी सहभागी भएका छन । कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनका अनुसार ४ जना खेलाडी काठमाडौ बाट पोखरामा आउने क्रममा रहेका छन भने ४ जना जापानको एक महिने प्रशिक्षणका लागि गएका छन ।

सागका लागि थप ४ जना खेलाडी छनोट हुन बाँकी रहेको अध्यक्ष शेरचनले पोखरा स्पोर्टसलाई बताए । ‘सागका लागि ४ जना खेलाडी छनोट हुन बाँकी छ कसरी गर्ने भन्ने बारे परिषद संग छलफल भइरहेको छ’ उनले भने । भदौको अन्तिम सम्ममा १६ खेलाडीको टुँगो लागिसक्नुपर्ने छ । जापान प्रशिक्षणका लागि गएका खेलाडीमा तिलक पुन मगर, रोशन नगरकोटी, ज्ञानु अवाले र मित्र राई छन । उनीहरु जापानको एक महिने प्रशिक्षण सकेर पोखरा आउने छन ।

साग अन्तरगत आर्चरी खेल डिसेम्बर ५–९ सम्म पोखरामा हुनेछ । जसका लागि पूर्वाधार समेत तयार भइसकेको छ । आर्चरीको रिकप र कम्पाउण्ड इभेन्ट अन्तरगत महिला पुरुष इन्डिभिजुअल, टिम र मिक्समा प्रतिष्पर्धा हुनेछ । सागमा नेपाली १६ जना खेलाडीले १० स्वर्ण, १० रजत र १० काश्य पदकका लागि प्रतिष्पर्धा गर्ने छन ।

तस्बिरः सुदर्शन रंजित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close