पोखरामा सदस्य सचिव घिसिङले भने–“गण्डकी प्रदेशको पूर्ण अपनत्व हुनेछ”

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशको पूर्ण अपनत्व हुने गरी अघि बढ्ने जनाएका छन् ।

आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि प्रदेश खेलकुद परिषद गण्डकी द्वारा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष र जिल्ला खेलकुदमा कार्यरत कर्मचारीहरुका लागि आयोजित अभिमुखीकरण तालिममा उनले उक्त कुरा बताएका हुन् । सदस्य सचिव घिसिङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजक राष्ट्रिय खेलकुद परिषद भए पनि गण्डकी प्रदेशले नै अपनत्व हुने गरी अघि बढेको बताउँदै भने–“हामीले यो विषयमा राखेपको हालै सम्पन्न वोर्ड बैठकमा समेत यस बारे छलफल गरेका छौं ।”

राखेपले नवौंको तयारीका लागि पहिलो चरणमा नेपाल सरकारबाट प्राप्त हुने १० करोड ४१ लाख रुपैयाँ केही समयमा नै प्राप्त हुने बताउँदै सबै प्रदेशहरुलाई तयारीका लागि ४९ लाख साउन भित्रै पठाउने विषयमा सवै प्रक्रियाहरु अन्तिम चरणमा पुगेको बताए । हालै सम्पन्न ११३ औं वोर्ड वैठक पछि नवौंको तयारीहरुका लागि सवै प्रदेशमा उत्साहका साथ कार्य अघि बढेको जनाउँदै भने–“खेलकुद विकास ऐन आएको दुई वर्षमा समेत ऐनले तोकेका कामहरु सम्पन्न हुन सकेको छैन” उनले थपे–“म आएको धेरै भएको छैन तर ऐन कार्यान्वयनका विषयमा देखिएका अन्यौलता हटाउँदै म अघि बढेको छु ।”

नवौं सम्पन्न गर्ने दायित्व सम्पूर्ण कर्मचारीहरुको काँधमा रहेको हुनाले क्षेत्रिय र जिल्ला खेलकुदमा कार्यरत कर्मचारीहरु त्यो अभिभारा पुरा गर्न प्रदेश खेलकुद अन्तर्गत कार्य गर्ने गरी निर्णय भएको सदस्य सचिव घिसिङले बताए । खेलकुद विकास ऐन अनुसार प्रदेश र जिल्ला खेलकुद गठन भए पनि यति बेला नवौं सम्पन्न गर्न चुनौती थपिएकोले कर्मचारीहरुलाई प्रदेशमा सहयोग गर्ने गरी निर्णय भएको उनले प्रष्टाए ।

नवौं राष्ट्रिय खेलकुदमा आयोजक गण्डकी प्रदेशले प्रथम हुने शुभकामना व्यक्त गर्दै सवै प्रदेशमा आवश्यक पर्ने स्वयंसेवी प्रशिक्षकहरुलागी समेत राखेपले सहयोग गर्ने बताए । उनले भने–“जुन खेलको प्रशिक्षक छैन त्यसका लागि राखेपले एक महिनाको र प्रदेशको तर्फबाट एक महिना तलव दिने गरी व्यवस्था गरेका छौं अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रशिक्षक राख्न म आग्रह गर्दछु ।”

सो कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङ सदस्य सचिव घिसिङलाई स्वागत गर्दै प्रदेशले आफ्नो तयारी सुरु भएको योजनाहरु सुनाए । उनले नवौं राष्ट्रिय खेलकुद सफल बनाउने संगै आएका पाहुना तथा खेलाडीहरुलाई खुसी बनाएर पठाउने दायित्व समेत रहेको बताउँदै नवौं राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेश वासीको अपनत्व हुने गरी सम्वोधन आवश्यक रहेको उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close