
पोखरा, नेपालले ब्याडमिन्टनमा २ वटा पदक पक्का गरेको छ । पोखरामा आइतबारदेखि शुरु भएको ब्याडमिन्टन प्रतियोगितामा नेपालले टिम इभेन्टमा २ वटा पदक पक्का गरेको हो ।
नेपालले महिला तथा पुरुषतर्फको समूह इभेन्ट दुबैतर्फ १÷१ पदक पक्का गरेको छ । आइतबार भएको खेलमा महिला तथा पुरुष दुबै टोली सेमीफाइनलमा प्रवेश गर्दै नेपालले २ पदक सुनिश्चित गरेको हो । सेमीफाइनलमा पराजित भएकै अवस्थामा पनि नेपालले कम्तिमा काश्य पदक पक्का भएको हो ।

नेपालका रत्नजित तामाङले भुटानका अनिष गुरुङलाई २१–६ र २१–९ को सोझो सेटमा पन्छाए । अर्को खेलमा नेपालका दीपेश धामीले भुटानका निदुप दोर्जेलाई २–० को सोझो सेटमै पराजित गरे । उनले निदुपलाई २१–१३ र २१–१४ को सेटमा पराजित गरेका हुन् ।
यसैगरी तेश्रो खेलमा नेपालका प्रिन्स दाहालले भुटानका नोर्बु ड्रडुपलाई २१–१२ र २१–५ को सेटमा हराउँदै सहज जित निकाले ।

महिलातर्फको खेलमा नेपालकी नङ्साल तामाङले बंगलादेकी शाल्पा अख्तरलाई ३–१ को सेटमा पराजित गरिन् उनले शाल्पालाई २१–१८, १५–२१ र २१–१७ को सेटमा पराजित गरेकी हुन् । अर्को खेलमा नेपालकी रसिला महर्जनले बंगलादेशकै एलिना सुल्तानालाई २८–२६ र २१–१९ को कठीन जित हात पारिन् ।
पदक सुनिश्चित भएपछि नेपालका प्रशिक्षक सुदीप योञ्जनले टफ गेममा खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दा जित निस्केको बताए । उनले सेमीफाइनलमा पनि आइतबारजस्तै खेलाडीले शतप्रतिशत खेले फाइनल पुग्ने सम्भावना रहेको बताए ।
बंगलादेशका प्रशिक्षक गौतम चण्डुपालले रेफ्रिका कारण आफूहरुले हार बेहोर्नुपरेको दाबी गरे । हाम्रो तर्फको प्रहारलाई लाईन रेफ्रीले धेरै जसो आउट लिदिएका कारण आफुहरु पराजित हुनुपरेको उनको भनाई थियो । यद्यपि महिला व्याडमिण्टनमा आफनो प्रदर्शन सन्तोषजनक रहेको उनले बताए ।

पोखरा रंगशालास्थित ब्याडमिन्टन कोर्टमा भइरहेको खेलमा ७ स्वर्ण, ७ रजत र १४ काश्य गरी २८ पदकका लागि ७ देशका ९४ जना खेलाडीले प्रतिष्पर्धा गर्दैछन् ।
आईतवारै पोखरा रंगशालाको व्याडमिण्टन कोर्टमा भएको दोस्रो ईभेण्ट चरणको खेलमा पुरुष टीम ईभेण्ट तर्फ पनि वंगलादेश पराजित भएको छ । महिला ईभेण्ट चरणमा भने वंगलादेश नेपालसँग पराजित भएको थियो ।
पुरुषतर्फ भने वंगालादेश पाकिस्तानसँग तीनै खेलमा सोझो सेटमा पराजित भयो । पहिलो खेलमा वंगलादेशका सलमान खान मोहम्मदले पाकिस्तानका आविज जाहिदलाई २१–१८ र २१–१४ ले सुम्पिए ।

यसैगरी पाकिस्तानका अलि मुरादले पनि वंगलादेशका गौरब सिंहलाई सोझो सेटमा पराजित गरे । गौरबले मुरादलाई आफ्नो खेल २१–११ र २२–२० को सेटमा सुम्पेका थिए । यसैगरी पाकिस्तानका मुहम्मद मकीत ताहिरले वंगलादेशका सैयद, साकेर मोहम्मद स्विगात अल्लाहलाई २१–१७ र २१–१७ को सेटमा पराजित गरे ।
महिलातर्फको ईभेण्टमा पनि पाकिस्तान हावी भयो । पाकिस्तानले ईभेण्ट तर्फका सबै प्रतियोगिता पाकिस्तानले जित्यो । पाकिस्तानकी महुर साहजादले माल्दिभ्सकी अमिनाथ नवीहा अब्दुल रज्जाकलाई २१–१९ र २१–१४ तथा पल्वसा बसीरले नीला अहमद नजीरलाई २१–१६, २३–२१ र २१–१७ को स्कोरमा पराजित गरेकी थिईन् । यसैगरी पाकिस्तानै गजला सिद्धिकीले फातिमाथ नवाह अब्दुल रज्जाकलाई पनि २१–१५ र २१–१५ ले नै पराजित गरेकी थिईन् ।
पोखरा रंगशालास्थित ब्याडमिन्टन कोर्टमा भइरहेको खेलमा ७ स्वर्ण, ७ रजत र १४ काश्य गरी २८ पदकका लागि ७ देशका ९४ जना खेलाडीले प्रतिष्पर्धा गर्दैछन् ।
यसअघि पोखरामा औपचारिक रुपमा दक्षिण एशियाली खेलकुद (साग)को उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवि पुनले व्याडमिण्टनका मुख्य रेफ्रि माल्दिभ्सका ललित अब्दुललाई व्याडमिण्टनका कक हस्तान्तरण गर्दै गरेकी थिईन् । सो अवसरमा उनले खेलकुदले खेलाडी तथा राष्ट्रहरुको आपसी सम्बन्धमा गाढापन ल्याउने बताईन् ।
एशियन व्याडमिण्टनका अध्यक्ष उस्वाह नासीरले एशियन राष्ट्रहरुमा व्याडमिण्टन खेलको विकास गर्न सहकार्य गर्नुपर्नेमा जोड दिए ।
नेपाल व्याडमिण्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेजबहादुर गुरुङ् राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङ् लगायतले आफ्नो भनाई राखेका थिए ।
