एशियाड प्याराग्लाइडिङः पदकको प्रवल सम्भावना तर राज्यको लगानी शुन्य (भिडियो सहित)

केशब पाठक,
पोखरा, १२ भदौ ।
इन्डोनेशियामा जारी १८ औं एशियन खेलकुदमा नेपालले प्याराग्लाइडिङ बाट पदक प्राप्त गर्ने प्रवल सम्भावना बढेको छ । राज्यको शुन्य लगानी रहेको प्याराग्लाइडिङले अब देशको इज्जत धान्ने मात्र नभइ नेपालको पदक विहिनताको अवस्थालाई समाप्त पार्ने करिब निश्चित भएको हो ।

क्रस कन्ट्रि चौथो दिनको खेल जारी रहँदा सम्म नेपालले कोरिया र जापानलाई पछि पार्दै दोश्रो स्थानमा उक्लिएको छ । खेलको पहिलो र दोश्रो दिनको खेलमा तेश्रो र तेश्रो दिनको खेलमा चौथो भएको नेपाल मंगलबार चौथो राउण्डको खेल सकिदा सम्म दोश्रो स्थानमा उक्लिएको हो ।

नेपालका पाइलटहरुले यहि गतिलाई समात्ने हो भने नेपालले खेलको अन्तिम दिन बुधवार नेपालका लागि पदक ल्याउने प्रवल सम्भावना बढेको टिमका म्यानेजर शैलेन्द्र राउतले बताए । “आजको खेल बाट हामी यति बेला निकै हौसिएका छौं तर हामी आफ्नो ‘प्यासेन’ गुमाउने छैनौ” टेलिफोन सम्पर्कमा पोखरा स्र्पोट्स डटकम लाई म्यानेजर राउतले भने ।

नेपालको आजको प्रर्दशन बाट निकै खुसीको अनुभुती भइरहेको टिमका प्रशिक्षक योगेश भट्टराइले बताए । “हामी अबको पदकको निकै नजिक छौं, भोली अन्तिम दिनको खेल सम्म यसलाई जोगाएर अघि बढ्ने छौ” उनले भने–“हामीले सबै खेलाडीलाई यहि कुरालाई आत्मसाथ गराएका छौं र इतिहास रच्ने छौं ।”

मंगलबारको टास्क सकिदा सम्म नेपालले २७९८ अंक बटुलेको छ भने पहिलो स्थानको जापानले ३२९८ र तेश्रो स्थानमा कोरियाले २१९२ अंक बटुलेको छ । चार दिनको खेलमा नेपाल दोश्रो स्थान रहँदै कुल ८५९१, पहिलो स्थानको जापानले ९३५९ र तेश्रो स्थानमा कोरियाले ८००० अंक बटुलेको छ । नेपाल पहिलो स्थानमा रहेको जापान भन्दा ७६८ अंक पछि तथा कोरिया भन्दा १३५९ अंकले अगाडी रहेको छ ।

मंगलबार खेल सकिंदा सम्म नेपाली पाइलट बिशाल थापाले ८७०, विमल अधिकारीले ८६१, युकेश गुरुङले ८०२, शुसिल गुरुङले २६५ र बिजय गौतमले १७२ अंक बटुलेको थिए । १८ औं एशियाडमा पहिलो पटक समावेश प्याराग्लाइडिङको खेल बुधवार सकिंदैछ ।

Posted by Sailen Rawat on Tuesday, August 28, 2018

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close