
पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषद गण्डकीद्वारा आयोजित प्रतिभाको खोजी (ट्यालेन्ट हन्ट) कार्यक्रमबाट ३६ जना पुरुष एथलेटिक्स खेलाडी छनौट भएका छन् ।

पोखरा रंगशालामा शनिबार आयोजित उक्त कार्यक्रममा ७ जिल्लाका जुनियर तथा सिनियर ३६ खेलाडी छनौटमा पर्न सफल भएका हुन् । छनौट हुन सफल खेलाडीहरुलाई १० दिनको आवाशिय सुविधा सहितको प्रशिक्षण दिने तय भएको कार्यक्रमका संयोजक खगेन्द्र क्षेत्रीले जनाएका छन् ।
उक्त कार्यक्रममा नवलपुर, गोरखा, तनहुँ, कास्की, स्याङजा, बागलुङ र पर्वतका खेलाडीहरु छनौट भएको प्रदेश खेलकुदका सदस्य समेत रहेका क्षेत्रीले बताए ।
छनौट भएका खेलाडीहरुलाई छोटो र मध्यम दुरीको एथलेटिक्स खेलको प्रशिक्षण दिइनेछ । उनीहरुलाई एथलेटिक्स खेलका विज्ञ शुसिल नरसिंह राणाले प्रशिक्षण दिनेछन् । खेल विज्ञान सहित एथलेटिक्सको प्रशिक्षणले प्रदेशका लागि पदक प्राप्त गर्न खेलाडीहरुलाई हौसला मिल्ने अर्का एथलेटिक्स प्रशिक्षक तथा एथलेटिक्स संघका केन्द्रिय सदस्य गज बहादुर गुरुङले बताए ।
