एशियाड पहिलो दिन नेपालको निराशाजनक प्रर्दशन

पोखरा, भदौ ३ ।
इण्डोनेशियामा शुरु भएको १८ औं एशियाली खेलकुदको पहिलो दिन नेपालका लागि निराशाजनक रह्यो । पुरुष व्याडमिन्टन बाहेक अन्य खेलमा नेपालको प्रर्दशन निराशापूर्ण रहेको हो । अफिसियलका नाममा जर्काता पुगेका हरु घुम्ने र फेसबुक लगाएत सामाजिक संजालमा फोटो हालेर दिन बिताउने बाहेक केही उपलव्धी होला जस्तो देखिएको छैन ।

१८ औं एसियाली खेलकुदअन्तर्गत पुरुष ब्याडमिन्टनको टिम स्पर्धामा नेपाल आइतबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपालले पाकिस्तानलाई ३–१ को सेटमा पराजित ग¥यो । नेपालबाट रत्नजित तामाङ, दिपेश धामी, नवीन श्रेष्ठ र विकास श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए । नेपालले क्वाटरफाइनलमा मंगलबार चाइनिज ताइपेईं विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

महिला टिम इभेन्टमा भने नेपाल चुक्यो । माल्दिभ्सले नेपाललाई ३–२ को सेटमा हरायो । नेपालबाट नङशल तामाङ, जेशिका गुरुङ, रशिका महर्जन र अमिता गिरीले खेलेका थिए ।

कुस्तीमा नेपालको चुनौती समाप्त
कुस्तीमा नेपालको चुनौती समाप्त भएको छ । कुस्तीमा नेपालबाट ३ पुरुष खेलाडीले भाग लिएका थिए । आइतबार तीन जना खेलाडीको पराजयसंगै नेपालको चुनौती समाप्त भएको हो ।

५७ केजीमा भागवत शाह तेली इरान, ७५ केजीमा सुरेश चुनारा जापान तथा ६५ केजीमा सरोज यादव मंगोलियाका खेलाडीसंग पहिलो चरणमै पराजित भए । तीनै खेलाडी १०–० ले पराजित भए ।

तेक्वान्दो
तेक्वान्दोको व्यक्तिगत पुम्सेतर्फ पुरुषमा नेपालका कमल श्रेष्ठ र महिलामा पार्वती गुरुङ पराजित भएका छन् । कमल र पार्वती दुवै चाइनिज ताईपेईंका खेलाडीसंग चुके । महिला टिम पुम्सेको क्वाटरफाइनलमा पनि नेपाल चाइनिज ताइपेईंसंग पछि प¥यो । त्यसअघि उज्वेकिस्तान टोली डिस्क्वालिफाइ घोषित भएपछि नेपाल क्वाटरफाइनलमा सीधै प्रवेश गरेको थियो ।

सोमबार महिला ५३ केजीमुनि निमा गुरुङ, ६७ केजीमुनि संगीता बस्याल र पुरुष ५८ केजीमुनि सागर गुभाजुले प्रतिस्पर्धा गर्नेछन् ।

सुटिङ
नेपालले मिक्स टिम इभेन्टमा समग्रमा २२ औं स्थान हासिल गरेको छ । २२ राष्ट्रका खेलाडी सहभागी मिक्स टिम इभेन्टमा सुस्मिता नेपाल र सुशे चौधरीले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गरेका थिए ।
४३६ पुर्णाङ्कमा सुस्मिताले ४०३.५ र सुशे चौधरीले ३७२.९ अंकको प्रदर्शन गरे । अब सुस्मिता र सुशेसहित कल्पना परियारले व्यक्तिगत १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछन् ।

कबड्डी
पुरुष कबड्डीको समूह ‘बी’ को लिग खेलमा आयोजक राष्ट्र इन्डोनेसियाले नेपाललाई ३३–२९ ले हरायो । ११ राष्ट्र सहभागी पुरुष कबड्डीको समूह ‘बी’ मा नेपाल, इन्डोनेसियासहित जापान, इरान, मलेसिया र पाकिस्तान छन् । नेपालले मंगलबार जापान, बुधबार इरान र मलेसिया तथा अगष्ट २३ तारिखमा पाकिस्तान विरुद्ध खेल्ने कबड्डी मुख्य प्रशिक्षक तारासिंह भाटले जानकारी दिए ।

फुटबल
पुरुष फुटबलमा नेपाल समूह चरण बाटै बाहिरिएको छ । समूह ‘डि’ को आफ्नो अन्तिम खेलमा नेपाली यु–२३ टोली पाकिस्तानको यु–२३ टोलीसंग २–१ गोलले पराजित भयो । चार राष्ट्र रहेको उक्त समूहमा नेपाल यसअघि जापानसंग १–० र भियतनामसंग २–० गोलले पराजित भएको थियो ।

फेन्सिङ
फेन्सिङमा आइतबार दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गरेका थिए । महिलाको साबर स्पर्धामा कमला श्रेष्ठ र रविना थापा पराजित भए ।

लनटेनिस
लनटेनिसको पुरुष सिंगल्समा नेपालका संरक्षकभूषण वज्राचार्य आयोजक इन्डोनेसियासंग २–६ र २–६ तथा अभिषेक बाँस्तोला भियतनामसंग ६–१, ३–६ र ३–६ को सोझो सेटमा पराजित भए । महिला सिंगल्समा भियतनामले माहिका राणालाई ६–० र ६–१ त्था हङकङले मायांका राणालाई ६–० र ६–१ को सोझो सेटमा पाखा लगाए । मिक्स डबल्समा पनि माहिका राणा र प्रणव खनालको जोडी ६–० र ६–१ तथा संरक्षक र एनी माथेमाको जोडी ६–१ र ६–० को सीधा सेटमा पराजित भए । दुवै जोडी हंङकङका खेलाडीसंग चुके ।

उसु
पुरुष थाउलोको छान् छ्वानमा नेपालका विजयी सिन्जालीले ८।२५ अंक जोड्दै समग्रमा १५ औं स्थान हासिल गरे । यो स्पर्धामा १८ खेलाडी सहभागी थिए । निमा घर्ती मगर १२ खेलाडी सहभागी नान् छ्वानमा १० औं स्थानमा आइन् । निमाले नान् ताउ भने सोमबार प्रतिस्पर्धा गर्नेछिन् ।

महिला सान्सौंको ५२ केजीमा नेपालकी जुनी राई भियतनाम, पुरुष ६० केजीमा नेपालका मंगलप्रसाद थारु इन्डोनेसिया तथा पुरुष ७० केजीमा नेपालका चित्रसिंह ठकुरी दक्षिण कोरियाका खेलाडीसंग पराजित भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close