
पोखरा स्पोर्टस । नेपालका उदियमान खेलाडी प्रिन्स दाहाल चितवनमा जारी योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको अन्तिम चारमा प्रवेश गर्न सफल भएका छन् ।
बिश्व जुनियर बरियतामा तेश्रो नम्बरमा रहेका एपिएफका प्रिन्सले सेमिफाइनल प्रवेश गर्ने क्रममा सेनाका हिमाल चन्दलाई २१।४, २१।९ को सोझो सेटमा पराजित गर्दै भोजपुरका पूर्व नम्बर एक खेलाडी बिकास श्रेष्ठ संगको भेट पक्का गरेका छन् । श्रेष्ठले एपिएफका प्रफुल महर्जन माथि २१।१८, २१।१९ को सोझो सेटमा पराजित गरेका थिए ।
यस्तै सेमिमा स्थान बनाउने क्रममा सेनाका नविन श्रेष्ठ र एपिएफका दीपेश धामी रहेका छन् । नविनले धादिङ्गका सुदीप सेढाईलाई २१।६ को समान अन्तरले र नम्बर दुई स्थानमा रहेका राष्ट्रिय च्याम्पियन धामीले सेनाका रुकेश महर्जन माथि २१।११, २१।१० को सोझो सेटमा पराजित गर्दै नविन संगको भेट पक्का गरेका हुन् ।
चितवन ब्याडमिन्टन संघ र हरिलाल धर्मदेवी स्मृती प्रतिष्ठानको संयुक्त आयोजनामा भएको प्रतियोगिताको महिला एकलमा एपिएफकी जेसिका गुरुङ्ग, सेनाका अनुमाया राई, रशिला महर्जन र अमिता गिरीले सेमिफाईनलमा स्थान बनाए । जेशिकाले एपिएफकी प्रेक्षा राईलाई २१।६, २१।४, अनुले कैलालीकी प्राथना देउवालाई २१।७, २१।१२, रशिलाले सुनसरी ब्याडमिन्टन क्लबकी २१।१५, २१।१०ले तथा अमिताले एपिएफकी सुनयना मुखियालाई २१।१६, २१।१२ ले पराजित गरे ।
ब्वाईज यु १७ तर्फ सेनाका भोज बहादुर गुरुङ्गले दाङ्गका हिमांशु कवार मगरलाई २१।१३, २१।१० ले पराजित गर्दै सेमिफाईनलमा कपिलबस्तुका रोहित बरालसंगको भेट पक्का गरेका छन् । रोहितले सेनाका आयुष्मान नागरीलाई २१।१०, २१।९ ले पराजित गरेका थिए । यस्तै सेनाका हिामाल चन्द दाङ्गका सुरज गुप्तालाई २१।१५, २१।६ ले पराजित गर्दै सेमिमा सुर्खेतका नरेन्द्र बामसंगको भेट पक्का गरेका छन् । बामले कञ्चनपुरका बिवेक चौधरी माथि १९।२१, २१।१६, २५।२३ को जित निकाले ।
गल्र्स यु १७ तर्फ सेनाकी रशिला महर्जनले फाईनल प्रवेशका लागि पाल्पाकी दीया शाक्यसंग प्रतिस्पर्धा गर्नु पर्ने छ । महर्जनले एपिएफकी प्रेक्षा राईलाई २१।४, २१।९ तथा दीयाले कैलालीकी प्रेयांशी बमलाई २१।९ को समान अन्तरले पराजित गरेकी थिईन् ।
अन्तर्राष्ट्रिय कभर्डहल बनाउने प्रतिबद्धता
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालले चितवनमा अन्तराष्ट्रिय ब्याडमिन्टन कभर्डहल बनाउन परिषदले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । चितवनमा जारी योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको प्रमुख अतिथीको रुपमा उपस्थित खेलसमुदायलाई सम्वोधन गर्दै सदस्य सचिव सिलवालले चितवनमा अन्तराष्ट्रिय स्तरको कभर्डहल निर्माण गर्नका लागि जग्गा उपलब्ध गराएमा राष्ट्रिय खेलकुद परिषदले निर्माणका लागि सम्पूर्ण सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।
