
पोखरा स्पोर्टस । आईबा विश्व महिला बक्सिङ्ग च्यिाम्पियनसिपको आज टाईशीट ड्र भएको छ ।
टाइसिट ड्र भए संगै सहभागि मुलुकका खेलाडीहरुको भिडन्त समेत पक्का भएको हो । सम्पन्न ड्र अनुसार मिनिमम वैट ४६ देखि ४८ किलो तौल समुहमा नेपालकी सुस्मा तामाङ्ग र मंगोलियाका लान्चिव योन संग १० मे का दिन प्रतिष्पर्धा हुनेछ । उक्त तौल समुहमा जम्मा ३२ जना खेलाडी रहेका छन् । त्यसैगरी ५० देखि ५२ किलो तौल समुहमा २८ वटा देशका खेलाडीहरु रहेको उक्त तौल समुहमा नेपालका मिनु गुरुङ्ले जापानका आर किनोशितासंग ११ मेमा प्रतिष्पर्धा गर्ने छिन् ।
५४ देखि ५७ किलो तौल समुहमा नेपालका चन्द्रकला थापाले बाई पाएर भारतीय खेलाडी मनिसासंग ११ मेमा प्रतिष्पर्धा गर्ने सुनिश्चित गरेकी छन् । ५७ देखि ६० किलो तौल समुहमा ३१ राष्ट्रका खेलाडीहरुको सहभागिता रहेको उक्त तौल समुहमा नेपाली खेलाडी पुनम रावलले प्रारम्भिक चरणमा बाई पाएकी छिन् । उनको प्रतिष्पर्धा ग्रिस र मोरक्कोविचको विजेतासंग १५ मेमा हुनेछ ।
उक्त प्रतियोगितामा ७३ मुलुकका ३ सय १० खेलाडीहरुको सहभागिता रहेको छ । आईबाको नयाँ परिवर्तित नियम अनुसार अनिवार्य काउन्ट हरेक राउण्डमा ३ र एउटा बाउटमा ४ रहने जानकारी आयोजकले दिएको छ । प्रतियोगितामा विजेता, उप विजेता र तृतीय स्थान हासिल गर्ने खेलाडीहरुले १ लाख, ५० हजार र २५ हजार अमेरिकन डलरका दरले २ जनाले प्राप्त गर्नेछन् ।
