टाइगर कप भलिबलको महिलातर्फको उपाधि न्यू डायमण्डले जित्यो

पोखरा स्पोर्ट्स । न्यू डायमण्ड स्पोर्ट्स क्लबले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधि जित्दै आफ्नो वर्चस्व प्रमाणित गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा सम्पन्न फाइनल खेलमा न्यू डायमण्डले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । न्यू डायमण्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पार्‍यो ।

उपाधिसँगै न्यू डायमण्डले नगद ६ लाख ६६ हजार ६६६ रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो भने उपविजेता बनेको पुलिस क्लबले ३ लाख ६६ हजार ६६६ रुपैयाँमा चित्त बुझायो । तेस्रो स्थान हासिल गरेको थाइल्याण्ड क्विन्सले २ लाख ६ हजार ६६६ रुपैयाँ पुरस्कार पायो ।

प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडी न्यू डायमण्डकी सुमित्रा रेग्मी घोषित भइन् । उनले २६ हजार ६६६ रुपैयाँ पुरस्कार प्राप्त गरिन् । विधागततर्फ सर्भर प्रतिभा माली, लिबिरो शान्तिकला तामाङ, सेटर प्रगती नाथ, ब्लकर सुनिता खत्री, स्पाइकर पथैया तथा प्रशिक्षक कुमार राई उत्कृष्ट घोषित हुँदै जनही ११ हजार ६६६ रुपैयाँ हात पार्न सफल भए ।

पुलिस क्लबलाई बिदाई
यसै बीच मालदिभ्समा आयोजना हुने काभा उमेन्स भलिबल च्याम्पियनसिपमा सहभागि हुन जाने नेपाल पुलिस क्लबको टिमलाई बिदाई गरिएको छ । नेपाल भलिबल संघले पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगिता आयोजना स्थलमा नै टोलीलाई जितको शुभकामनासहित बिदाई गरेको हो ।

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दसहित, काभाका अध्यक्ष मोहमद लातिफ, टाइगर ग्रुपका अध्यक्ष नारायण प्रसाद शर्मालगायतले टोलीलाई जितको शुभकामनासहित बिदाई गरेको थियो । सो अवसरमा बोल्दै अध्यक्ष चन्दले नेपाली क्लबले अन्तर्राष्ट्रिय खेल मैदानमा उत्कृष्ट प्रदर्शन गर्नेमा आफू आशावादी रहेको जनाउँदै टोलीलाई शुभकामना दिए । नेपाल पुलिस क्लब माघ १७ गते मालदिभ्सतर्फ प्रस्थान गर्ने कार्यक्रम तय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close