दक्षिण कोरियामा उमर, उज्वल, रेखमाया र धनमायालाई स्वर्ण

काठमाडौं, ३२ असार ।
नेपालका मोहम्मद उमर खान र धनमाया सिन्जालीले दक्षिण कोरियामा भएको १२औँ विश्व तेक्वान्दो कल्चरल एक्सपो तथा च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।

उमरले फाइटिङको ४८ केजी तौलसमूहमा स्वर्ण जित्दा पुम्सेतर्फ भने कांस्यमै सीमित भए । धनमायाले महिला फाइटिङकै ६३ केजीमुनि तौलसमूहमा स्वर्ण जित्न सफल भएकी थिइन् ।

रोशन खानको नेतृत्वमा कोरियामा प्रतिस्पर्धा गरेको नेपाली टोलीले ५ स्वर्ण, ५ रजत र १० कांस्य गरी कुल २० पदक जित्न सफल भएको सिनियर खेलाडी दीपेन्द्र नेपालीले जानकारी दिए ।

नेपालका लागि सहवीरजंग रावल, उज्वल श्रेष्ठ र रेखमाया गुरुङले फाइटिङमा थप स्वर्ण जितेका थिए । सहवीरले ४० केजी तौलमा स्वर्ण जित्दा पुम्सेमा रजत पदकमै चित्त बुझाए ।

उज्वलले पनि ६८ केजी तौलसमूहमा स्वर्ण जित्दा पुम्सेमा कांस्य पदकमै सीमित भए । रेखमायाले ६७ केजी स्वर्ण जित्दा पुम्सेतर्फ फाइनलमा पुगे पनि हार बेहोरे पछि दोहोरो स्वर्ण जित्नबाट चुकिन् ।

पुरुष फाइटिङको ६३ केजी तौलसमूहमा फाइनलमा पुगेका दिपेन्द्र बहादुर नेपालीले उत्कृष्ट प्रतिस्पर्धा गरे पनि चोट बोकेपछि रजत पदकमै चित्त बुझाउन बाध्य भए । दीपेन्द्रले पुम्सेतर्फ भने कांस्य पदक जितेका थिए ।

कोरियाको मुजु सहरमा आगामी १७ जुलाईसम्म हुने च्याम्पियनसिपको फाइटमा पुरुष ४५ केजीमा सागर बराल र ४८ केजीमा रोनिस पौडेलले नेपालका लागि रजत पदक जित्नै सफल भए । दुवैले पुम्सेतर्पm कांस्य जितेका थिए ।

पुरुष फाइटिङकै ५४ केजीमा कांस्य जितेका अब्बास खानलदे पुम्सेमा पनि कांस्य पदकमै सीमित भए । जिप्सन नेपालले फाइटिङको ४० केजीमा र पुम्सेमा १–१ जित्न सफल भए । महिलाको ५३ केजी तौलसमूहको फाइटिङमा मेलिना गुरुङले कांस्य पदक जित्न सफल भएको प्रशिक्षक मीरा थापाले जानकारी दिइन् ।

कार्यक्रममा आयोजकले नेपालका हेड अफ टिम खानलाई नगद १ लाख र प्रसंशापत्रबाट सम्मान गरेको थियो । १३ सदस्यीय नेपाली टोलीलाई गत बुधबार नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्सेर राणाले बिदाइ गरेका थिए ।

नेपाली टोली च्याम्पियनसिप पश्चात थाइल्यान्डको बैंककमा आगामी २२ जुलाईमा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो सेमिनारमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नेछन् । तिराक तेक्वान्दो एसोसिएसनको आयोजनामा एकदिने सेमिनारमा सहभागी हुने कार्यक्रम रहेको टोलीका खेलाडी दीपेन्द्रले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close