
पोखरा स्पोर्टस । नेपाल सुपर लिग उपबिजेता टोली पोखरा थण्डर्सलाई पोखरा महानगर पालिकाले स्वागत गरेको छ ।
पोखरा रंगशालामा महानगरले एक कार्यक्रमका बीच सोमबार टोलीलाई स्वागत गरेको हो । सो अवसरमा बोल्दै पोखरा महानगरका प्रमुख धनराज आचार्यले पोखरा थण्डर्सले उत्कृष्ट खेल प्रदर्शन गर्दै उपविजेता बन्न सफल भएकोमा बधाई दिए । उनले भने–“नेपाल सुपर लिगमा पोखरा थण्डर्स उपविजेता मात्रै बनेको छैन । यो टिमले सम्पूर्ण खेलप्रेमीहरुको मन जित्न सफल भएको छ ।”

नेपाली फुटबललाई व्यवसायिक बनाउन महत्वपूर्ण रहेको प्रतियोगितामा उपविजेता टोलीलाई आफ्नै आङ्गनमा स्वागत गर्न पाउनु सबैका लागि खुसीको सन्देश दिएको बताउँदै प्रमुख आचार्यले भने–“जित र हारमा भन्दा पनि देशकै ठूलो शहर पोखराको गौरव बढाउन र अपनत्व जगाउन भूमिका खेलेको छ ।”
केही टेक्निकल कारणले पोखरा थण्डर्स उपविजेता बनेको बताउँदै पोखरामा अर्को वर्ष सुपर लिगका प्रतियोगिताहरु सञ्चालनका लागि पोखरा महानगर सहकार्य गर्न तयार रहेको जनाउँदै मेयर आचार्यले पोखरा रंगशालामा देखिएका प्राविधिक समस्याहरु समाधान गर्न समेत संघिय खेलकुद मन्त्रालय संग अनौपचारिक छलफल भएको उल्लेख गरे ।
कार्यक्रममा आफ्ना भनाई राख्दै टोलीका प्रशिक्षक सुमन श्रेष्ठले पोखरेली दर्शकहरुको साथका कारणले नै टोलीको प्रदर्शन र मनोबल उच्च रहेको बताए । उनले पोखरा फुटबलको हव रहेको जनाउँदै पोखरामा आएर फुटबल खेल्नु कुनै पनि खेलाडीका लागि गौरव लाग्ने बताए ।
कार्यक्रममा पोखरा महानगर वडा नं १५ का अध्यक्ष तोरण बहादुर बानियाँ, प्रदेश खेलकुद परिषदका पूर्व सदस्य सचिब तेज बहादुर गुरूङ, प्रदेश खेलकुदका सल्लाहकार सुनिल गुरूङ,पोखरा थण्डर्स टोलीका पोखरा प्रमुख बिजय शाही, पोखरा महानगर खेलकुदका निवर्तमान अध्यक्ष दिपक बहादुर गोदार, खेलकुद पत्रकार मञ्चका अध्यक्ष एमवि आस्थालगायतको सहभागिता रहेको थियो ।
गत शनिबार सम्पन्न नेपाल सुपर लिगमा पोखरा थण्डर्स ललितपुर संग २–१ ले फाइनलमा पराजित भएको थियो । उपविजेता भए संगै पोखरा थण्डर्सले नगद रु ३० लाख जितेको थियो भने ललितपुरले नगद ८० लाख हात पारेको थियो ।
