
काठमाडौं, ३१ असार ।
टेनिसका पूर्व च्याम्पियन श्रीराम मगरको निधन भएको छ । उनको गए राती १२ः४० बजे आफू बस्दै आएको त्रिपुरेश्वर स्थित कोठामा ४८ वर्षको उमेरमा निधन भएको बताइएको छ ।
मगरको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन सातदोबाटोस्थित टेनिस कम्प्लेक्स हातामा राखिएको थियो । नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणालगायतका पदाधिकारीले मगरको पार्थिव शरीरमा टेनिस संघको झण्डा राखि श्रद्धाञ्जली दिएका थिए ।
त्यस्तै प्रशिक्षक, खेलाडी, खेलाडीका अभिभावकलगायतले पनि मगरको पार्थिक शरीरमा पुष्पगुच्छा चढाईं भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
मगर जुनियर टेनिस इनिसिएटिभ (जेटीआई) कार्यक्रमका प्रशिक्षक थिए । १२ वर्षको कलिलो उमेरमा बल ब्वाइका रुपमा टेनिसमा संलग्न भएका स्व. मगरले अन्तिम पटक गत बैशाखमा काठमाडौंमा भएको छैटौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको मिक्स डबल्समा आफ्नै चेली आईरा रावतसंग मिलेर स्वर्ण जितेका थिए ।
स्व. मगरले भारतको मद्रासमा भएको ७ औं र गुवाहटीमा भएको १२ औं दक्षिण एसियाली खेलकुदमा पनि नेपालको प्रतिनिधित्व गरेका थिए । उनको आइतबार नै अन्त्येष्टी गरिएको छ । स्व. मगरका श्रीमित, १ छोरा र १ छोरी छन् ।