खेलकुद मन्त्री चौधरीलाई मञ्चले गर्‍यो स्वागत, ‘म केही नबोल्ने अवस्थामा पुगी सके’–मन्त्री चौधरी (भिडियो सहित)

पोखरा स्पोर्टस । “म केही नबोल्ने अवस्थामा पुगिसके”–यो भनाई हो संघिय सरकारका यूवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले मंगलबार पोखरामा मन्त्री चौधरीको सम्मानमा आयोजित  स्वागत तथा अन्तक्रिया कार्यक्रममा बोल्ने क्रममा मन्त्री चौधरीले पटक–पटक दोह्यार्‍एका हुन् ।

भलिबलको पूर्व राष्ट्रिय खेलाडी रहि सकेका मन्त्री चौधरीले आफू जस्तै समकक्षीहरुले पोखरामा खेलकुदको विकासका लागि साढे दुई दशक अघि देखि सुरू गरेको अभियान पोखरा रंगशालाको पर्खाल निर्माण गरी संरक्षण, अन्तर्राष्ट्रिय म्याराथनको आयोजना, स्वस्थ पोखरा स्वस्थ्य पोखरेली अन्तर्गत सुरू हुन लागेको मासिक दौड कार्यक्रम बारे सुनेर प्रभावित हुँदै मन्त्री चौधरीले सम्वोधनका क्रममा भने–“अव म केही नवोल्ने अवस्थामा पुगिसकें ।”

केही क्षण सोचेर पुनः आफ्नो मन्तव्य अधि बढाएका मन्त्री चौधरीले भने–भूतपूर्व खेलाडी मञ्चले पोखरामा खेलकुदको विकासका लागि गरेका कामका लागि म सेल्युट गर्न चाहन्छु । नमन गर्न चाहन्छु ।’ पोखरा खेलकुदको प्रेरणाको स्रोत रहेको बताउँदै उनले भने–‘यहाँहरुले गरेका कार्य यहाँ मात्रै होइन राजधानी काठमाण्डौमा देखाउनु पर्ने रहेछ ।’ काठमाण्डौ लगायत नेपालका हरेक शहरहरुमा पूर्व खेलाडीहरु रहेकाले पनि उनीहरुलाई यस्तो कार्यको सिको आवश्यक रहेको उनको भनाई थियो । उनले मञ्चले गरेको कार्य सवैका लागि प्रेरणाको स्रोत बन्ने बताउँदै देशैभर यस प्रकारका गतिविधि बढाउन पहल गर्न आग्रह समेत गरे ।

खेलकुद विकासका लागि मञ्चले गरेका कार्यको आधा निकै गम्भिर भएर प्रस्तुती सुनेका मन्त्री चौधरीले भने–“मैले यसको जवाफ अब काठमाण्डौ पुगेर दिन्छु । यहाँ त म बोल्नै नसक्ने अवस्थामा पुगे ।” पूर्व खेलाडीहरुले आफूले सिकेको सिप यूवाहरुमा बाँडन र खेलकुद मार्फत समाज परिवर्तनको अभियानमा जोडिएको विषय नै महत्वपूर्ण विषय रहेको जनाउँदै उनले भने–“यहाँको सामाजिक र खेलकुद भावनाकै कारण मलाई पनि पटक–पटक पोखरा आउने वातावरण तयार भएको छ ।”

मन्त्री चौधरीले आफ्नो मन्तब्यलाई बिट मार्दै भने–“म यति विश्वास दिालउन मात्रै चाहन्छु । किनभने म आज बोल्नै नसक्ने आवस्थामा पुगें । म यहाँहरुलाई धन्यबाद दिन चाहन्छु । पोखरा रंगशालाको मर्मतका लागि आउने १ करोड समेत अब छिट्टै आउने छ । यहाँहरुले पुरस्कार रकम थप गर्न भन्नुभएको छ म थप गर्न यहाँ विश्वास दिलाउन चाहन्छु, अबको बजेटमा यहाँहरुको माग अनुसारको बजेट थप गर्नेछौं ।”

कार्यक्रममा आफ्ना भनाई राख्दै मञ्चका अध्यक्ष दिल बहादुर गुरुङले नेपाली खेलकुदले ‘एक्सन’मा जाने मन्त्री पाएको बताउँदै पूर्व खेलाडीहरुको छाता संस्था मञ्चले स्थापनाको छोटो अवधिमा नै रंगशालाको पर्खाल घेरेर संरक्षण गरेको जनाए । उनले भने–“हामी खेलकुदको विकासको कुरा मात्रै गरेका छैनौं । खेलकुदमा नेतृत्व विकास समेत गरेका छौं भने प्राविधि जनशक्ति उत्पादनमा समेत भूमिका खेलेका छौं ।”

सो अवसरमा बोल्दै मञ्चका पूर्व अध्यक्ष तेज बहादुर गुरुङले मञ्चका गतिविधि बारे जानकारी गराउँदै पोखरेली नागरिकहरुको बिना शर्त गरेको सहयोगले नै पोखरा म्याराथनले उचाई पाएको बताए । उनले खेलाडीहरुले विनास्वार्थ काम गरेको जनाउँदै खेलकुदमा बहुआयमिक अभियान रहेकोले सोही अनुरुप अघि बढ्न सके नेपाली खेलकुद विकासले गति लिने बताए ।

नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा यहि फागुन ३ गते १९ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन आयोजना हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close