दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता : कति खेल ? कुन खेल कहाँ हुँदै ? (प्रस्तावित खेल र जिल्ला)

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद (राखेप) को आयोजनामा हुने दशौै राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी बैठक काठमाण्डौमा सम्पन्न भएको छ ।

दशौं खेलकुद प्रतियोगिताको तयारी बैठकमा प्रस्तावित खेल र विभिन्न सम्भावित जिल्लामा आयोजना हुने स्थानहरुको समेत बैठकमा छलफल भएको छ ।

परिषदका सदस्य सचिब टंकलाल घिसिङको अध्यक्षतामा सम्पन्न बैठकमा निर्देशिका संसोधन, टिम तयारी, खेल तालिकालगायत कर्णाली प्रदेशमा नै पहिलो पटक आयोजना हुने पारा खेलकुद प्रतियोगिताका बारे छलफल भएको छ ।

दशौं राष्ट्रिय खेलकुदमा कुल ३६ खेल प्रस्तावित गरिएको छ । अधिकांश खेलकुदहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने गरी प्रस्ताव गरिएको छ । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर २ देखि ९ गते सम्म तय भए पनि प्रतियोगिता अन्तर्गत केही खेलहरु कार्तिक २७ गतेबाट औपचारिक उद्घाटन अगावै गर्ने गरी प्रस्ताव गरिएको हो । 

कार्तिक २७ गते सुरु हुने प्रस्तावित खेलहरुमा महिला फुटबल, उशु, बास्केटबल महिला/पुरुष, जुडो, तेक्वान्दो र महिला/पुरुष हक्की रहेका छन् । त्यस्तै कार्तिक २८ गते महिला/पुरुष ह्याण्डबल सुरु हुनेछ भने कार्तिक २९ गते महिला पुरुष क्रिकेट, फेन्सिङ र मंसिर १ गते महिला भलिबल र फुलकन्ट्याक्ट सुरु हुनेछ ।

कर्णालीको कुन जिल्लामा कुन खेल ?(प्रस्तावित जिल्ला)
जुम्ला– फुलकन्ट्याक्ट कराते र बुद्धिचाल
सल्यान– टेबुल टेनिस
हुम्ला–हक्की कहिला/पुरुष
दैलेख–कबड्डी
कालिकोट-कराते
रुकुम पश्चिम–आइटिएफ तेक्वान्दो

मिति र स्थान प्रस्तावित नगरिएका खेलहरु
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत १२ वटा विभिन्न खेलहरुको तालिका भने प्रस्तावित गरिएको छैन । तालिकामा ति खेलहरु उल्लेख भए पनि कहिले र कहाँ हुने भन्ने बारे छलफल बाँकी रहेको बैठकमा सहभागिले जनाएका छन् ।

मिति र स्थान प्रस्तावित नगरिएका खेलहरुमा टेनिस, जिम्न्याष्टिक, सफ्ट टेनिस, स्कवास, आर्चरी, फेन्सिङ्ग, सेपाकताक्रो, सुटिङ्ग, गल्फ, साइक्लिङ्ग, ट्रायथलन, प्याराग्लाइडिङ रहेका छन् । प्रतियोगितामा निर्णायक संख्या १ हजार ४ सय ९९ प्रस्ताव गरिएको छ ।

सदस्य–सचिव घिसिङले गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदमा समावेश ३६ खेल मध्ये प्याराग्लाइडिङ बाहेक ३५ खेल प्रस्ताव गरेका छन् ।

बैठकमा सदस्य–सचिव घिसिङले दसौं राष्ट्रिय खेलकुदका लागि नेपाल सरकारबाट ६० करोड बजेट सुनिश्चित भइसकेको जानकारी दिंदै कर्णाली प्रदेश खेलकुद विकास परिषद्लाई तयारी अगाडि बढाउन बजेट उपलब्ध गराउने बताए । उनले बृहत राष्ट्रिय खेलकुद देशकै ओलम्पिक खेलकुदका रुपमा रहेको हुँदा समयमै आयोजनाको विकल्प नभएको बताउँदै दसौं राष्ट्रिय खेलकुदलाई सफलतापूवर्क सम्पन्न गर्न सरोकारवाला सबै जिम्मेवार र गम्भीर हुनु पर्नेमा जोड दिए ।

सदस्य–सचिव घिसिङले दसौं राष्ट्रिय खेलकुद समयमै आयोजना गर्न परिषद् तयार रहेको बताउँदै खेलकुदलाई व्यवसायिक बनाउनु पर्ने आवश्यकता औल्याए । उनले लोगो र मस्कटको छनोट भइसकेको अवगत गराउँदै खेल पोशाकको व्यवस्थापन गर्ने जिम्मेवारी सम्बन्धित प्रदेशलाई दिने गरी तयार थालिएको बताए ।

सदस्य–सचिव घिसिङले अन्तर्राष्ट्रिय प्रचलन अनुसार दसौं राष्ट्रिय खेलकुद सकिए लगत्तै नेपालमा पहिलोपटक कर्णालीमै पारा खेलकुद पनि आयोजना गर्न लागिएको बताउँदै प्रस्ताव गरिएका बुदाँमा यथशीघ्र सुझाव उपलब्ध गराउन आग्रह गरे । 

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव विश्वामित्र सन्ज्यालले आवासको व्यवस्थापन कारण कर्णाली प्रदेशको ५ जिल्लामा २२ देखि २४ खेल मात्र गर्न सकिने बताउँदै बाँकी खेलका विषय चाँडै टुंगो लगाउनु पर्ने बताए ।

बैठकमा सहभागी प्रदेश खेलकुदका सदस्य–सचिवहरुले गाउँपालिकादेखि नै खेलाडी छनोट हुनुपर्ने, एक खेलमा कम्तीमा ५ टिम सहभागी हुनु पर्ने, बजेट समयमा निकासा हुनुपर्नेलगायतका विषयमा धारणा राखेको प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्माले जानकारी दिए ।

सम्पन्न बैठकमा परिषदका उपाध्यक्ष कृष्ण ज्वाला देवकोटा, सात वटै प्रदेशका सदस्य सचिवहरु, तीनवटै विभागिय नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका खेलकुद प्रमुखहरु, परिषदका विभागिय प्रमुखहरुलगायतको सहभागिता रहेको थियो ।

तस्विरः कर्णाली प्रदेश खेलकुद परिषदको फेसबुक बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close