मञ्चमा सल्लाहकार मनोनयन, पोखरा रंगशाला पर्खालको सौन्दर्यीकरणको पहल गरिने

पोखरा स्पोर्टस । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले कार्यसमितिमा सल्लाहकार मनोनयन गरेको छ ।

मञ्चको सोमबार पोखरामा सम्पन्न बैठकमा सल्लाहकारमा मनोनित आजिवन सदस्यहरुलाई स्वागत संगै विभिन्न निर्णयहरु गरी सम्पन्न भएको अध्यक्ष दिल बहादुर गुरुङले जानकारी दिएका हुन् ।

मञ्चको सल्लाहकार समितिको संयोजकमा मेजर दिल बहादुर गुरुङ रहेका छन् । त्यसै गरी सल्लाहकार समितिको सदस्यमा प्रा.डा.विरेन्द्र सिंह गुरुङ, अशोक पालिखे, जयराम हमाल, शम्भु कार्की, तिलक केसी, खेम बहादुर गुरुङ, गोकर्ण कार्की, महेश गुरुङ, जगन बहादुर गुरुङ, मञ्जुलमान श्रेष्ठ, गणेश बहादुर भट्टराई र अग्रज पत्रकार नारायण कार्की रहेका छन् ।

गत असौज १२ गते सम्पन्न मञ्चको आठौं अधिवेशन सम्पन्न गरी नव निर्वाचित कार्यसमितिले नेपालको पहिलो र गौरवपूर्ण इतिहास बोकेको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी समेत सुरु गरेको अध्यक्ष गुरुङले जानकारी दिए । उनले मञ्चकै पहलमा भएको पोखरा रंगशालाको पर्खाल लामो समय सम्म संरक्षण हुन नसकेको प्रति चिन्ता व्यक्त गर्दै बैठकले संरक्षण र सौन्दर्यीकरणका लागि पहल गर्ने बताए ।

उनले भने–“हामीले नेपाली खेलकुदको जगलाई बलियो बनाउन पोखरा रंगशालालाई पर्खाल निर्माण गरी संरक्षण अभियानको कार्य सम्पन्न गरेका थियौं । नागरिक समाज जुरुक्क उठेर खडा गरेको पर्खाल बारे राज्यको चासो पुग्न सकेन । दाताहरुबाट निर्मित खेलकुदको अमुल्य निधि यतिबेला जर्जर अवस्थामा छ,” उनले थपे,“हामीले नै पर्खाल निर्माणको अभियान सुरु गरी रंगशाला संरक्षण गरेका थियौं । अब राज्यको ध्यान पुग्न नसेकको पर्खालको सौन्दर्यीकरण गरी संरक्षणको अभियानमा जुट्छौं ।”

त्यसै गरी मञ्चले आगामी मंसिर १५ गते पोखरामा च्यारिटी डिनर नाइट गरी कोष निर्माण गर्न प्रथम उपाध्यक्ष खेम बहादुर गुरुङको संयोजकत्वमा समिति गठन गरेको छ भने सदस्यता वृद्धि अभियानलाई समेत अघि बढाउने भएको छ ।

त्यसै गरी आगामी फागुन ३ गते पोखरामा हुने १९ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन सम्पन्न गर्न विभिन्न उपसमिति गठन संगै पोखरालाई ‘स्वस्थ्य शहर, समृद्ध शहर’को रुपमा अघि बढाउन वडास्तरीय मासिक दौडहरु सञ्चालनका लागि द्वितिय उपाध्यक्ष कृष्ण तिमिल्सिनाको अध्यक्षतामा एक उपसमिति गठन गरेको छ ।

मञ्चको आर्थिक स्रोतलाई बलियो बनाउन कार्यसमिति सदस्य पुरन कुंवरको संयोजकत्वमा अक्षयकोष उपसमिति गठन गरेको छ भने मञ्चका दिवंगत आजिवन सदस्यका परिवार र मञ्चमा स्वदेश तथा विदेशमा रहेका आजिवन सदस्यहरुलाई समन्वय गर्न संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट र सल्लाहकार महेश गुरुङलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

सम्पन्न बैठकमा मञ्चका निवर्तमान अध्यक्ष हरिप्रसाद पराजुली, सल्लाहकार समितिका संयोजक मेजर दिल बहादुर गुरुङ, पूर्व अध्यक्ष तेज बहादुर गुरुङ, सल्लाहकारहरु अशोक पालिखे, नारायण कार्की, तिलक केसी, गोकर्ण कार्कीलगायतले आफ्ना भनाई राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close