
पोखरा स्पोर्टस । यू २० साउथ यसिएन जुनियर एथलेटिक्स च्याम्पियनसिपमा सहभागि हुन जाने नेपाली खेलाडी द्वय बादल कार्की र नारायणी भण्डारीलाई पोखरामा बिदाई गरिएको छ ।
यू २० साउथ यसिएन जुनियर एथलेटिक्स च्याम्पियनसिप यहि ११–१३ सेप्टेम्बर (२६–२८ भदौ)मा भारतको चेन्नईमा आयोजना हुँदैछ । चौथो सस्करणको उक्त प्रतियोगितामा सहभागिता जनाउने दुबै जना नेपाली खेलाडी बादल र नारायणी हालै काठमाण्डौमा छनौट चरण पार गरेका थिए ।
साउथ यसिएन जुनियर एथलेटिक्स च्याम्पियनसिपमा बादल र नारायणीले १५०० र ३००० मिटरको स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् ।
बागलुङ काठेखेला गाउँ पालिका ७ का बादल राष्ट्रपति रनिङ शिल्डका स्वर्ण पदक बिजेता हुन् । बादलले यस अघि दुवईमा सम्पन्न यू–२० यसियन एथलेटिक्स च्याम्पियनसिपमा सहभागिता जनाई अन्तर्राष्ट्रिय अनुभव संगालेका छन् ।
त्यस्तै महिलातर्फकी नारायणी भण्डारी कास्की पोखरा २२ कृस्तीकी हुन् । उनी छोरेपाटन मावीमा अध्ययनरत छिन् । नारायणीको यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता हो ।
काठमाण्डौ प्रस्थान गर्न लागेका दुबै खेलाडीलाई कास्की एथलेटिक्स संघले बिदाई गरेको संघका सदस्य सिद्धान्त अधिकारीले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
कास्की एथलेटिक्स संघका अध्यक्ष हरि बहादुर बरुवाल, एथलेटिक्स संघका केन्द्रिय सदस्य गज बहादुर बहादुर गुरुङ, अभिभावकहरु, खेलाडीहरुले जितको शुभकामना दिंदै उनीहरुलाई बिदाई गरेका थिए ।
