राष्ट्रपति रनिङ शिल्डः तेक्वान्दोमा गण्डकीका युकेशलाई स्वर्ण

पोखरा, २९ असार । गण्डकी प्रदेशका युकेश थापाले ११ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको तेक्वान्दोमा आइतबार स्वर्ण जितेका छन् ।

पुरुष ४५ केजीमुनि फाइनलमा युकेशले गण्डकीका पन्नु लोधलाई पराजित गरे । प्रदेश १ का मनोज माझी तथा प्रदेश ५ का सुजवकुमार यादवले कांस्य जिते । महिला ४२ केजीमुनि क्षितिजा गुरुङ पहिलो भइन् । फाइनलमा क्षितिजाले प्रदेश ५ की मुस्कान पुनलाई हराइन् । प्रदेश १ की कुसुम लिम्बू तथा गण्डकीकी सोनिया माझी तेश्रो भए ।

प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले प्रतियोगितामा समावेश विभिन्न ६ खेलका प्रशिक्षकलाई खेल सामाग्री हस्तान्तरण गरी उद्घाटन गरे ।

सो अवसरमा आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले आठौं राष्ट्रिय खेलकुदका कारण राष्ट्रपति रनिङ सिल्ड असारमा गर्नु परेको बताउदै अबदेखि राष्ट्रपति रनिङ सिल्ड अनुकुल समयमा आयोजना गरिने प्रतिबद्धता जनाए ।

केन्द्रीयस्तरको यो प्रतियोगितामा एथलेटिक्स, भलिबल, कराते, तेक्वान्दो, उसु र कबड्डीमा प्रतिस्पर्धा भइरहेको छ । चार प्रदेश १, ४, ५ र ७ को सहभागिता रहेको प्रतियोगिताको एथलेटिक्समा ८८ खेलाडीले २६ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् । भलिबल र कबड्डीमा चारै प्रदेशबाट छात्र–छात्राको टिम सहभागी छन् । करातेमा ४८ खेलाडीले ८ स्पर्धामा सहभागिता जनाएका छन् । तेक्वान्दो र उसुमा समान ४८ खेलाडीले समान ६ स्वर्णका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

एथलेटिक्स लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्र, उसु त्रिपुरेश्वरस्थित राखेप सेमी कभर्डहल, भलिबल त्रिपुरेश्वरस्थित राखेपको बहुउद्देश्य कभर्डहल, कराते र तेक्वान्दो सातदोबाटो तथा कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा भइरहेको छ ।

व्यक्तिगत स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः ५ हजार, ४ हजार र ३ हजार नगद पुरस्कार पाउने छन् । टिममा पहिलोदेखि तेश्रो हुने खेलाडीलाई क्रमशः २ हजार ५ सय, २ हजार र १ हजार ५ सय नगद पुरस्कार दिइने छ । जुनियर राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीलाई १० हजार नगदबाट पुरस्कृत गरिने छ । प्रतियोगिता मंगलबारसम्म चल्नेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close