
पोखरा स्पोर्ट्स । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) गण्डकी प्रदेशको आयोजनामा पोखरामा गण्डकी प्रदेशस्तरीय छात्र फुटसल प्रतियोगिता सुरू भएको छ ।

पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहलमा आइतबारबाट सुरू भएको प्रतियोगिताको गण्डकी प्रदेश सरकारका सामाजिक विकास, यूवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले उद्घाटन गरे । सो अवसरमा बोल्दै मन्त्री थापाले खेलकुदको विकासका लागि यस प्रकारका प्रतियोगिताहरुको महत्व रहेको जनाउँदै खेलकुद यहाँको पर्यटन प्रवर्द्धनामा समेत उत्तिकै अपरिहार्य रहेको बताए ।
हिसान गण्डकीका अध्यक्ष डा.रामजी शर्माको अध्यक्षतामा भएको कार्यक्रममा हिसानका केन्द्रिय उपाध्यक्ष बाबुराम पन्त, हिसान गण्डकीका सचिब डिल्लिराम अधिकारीलगायतले प्रतियोगिता सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
यसै बीच आइतबार भएको उद्घाटन खेलमा गुरूकुल बिजयी भएको छ । गुरूकुलले जेसिएलाई ३–२ गोलले जित हासिल गरेको हो । खेलको पहिलो हाफमा २–० ले अग्रता लिएको जेसिए हाफ टाइम पछि ३ गोल आत्मसाथ गर्न पुग्यो ।
त्यस्तै डायमण्ड माविले पोखरा युनाइटेड एकेडेमीलाई टाइव्रेकरमा पराजित गरेको छ । निर्धारित समय २–२ गोलको बराबरीमा सकिए पछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । जसमा डायमण्डले ३–२ ले बाजी मार्न सफल भयो ।
यहि फागुन ७ गते सम्म सञ्चालन हुने प्रतियोगितामा विद्यालय तर्फ १६ विद्यालयले भाग लिएका छन् । जसमा क्याम्पसतर्फ ९ टिमले सहभागीता जनाएका छन् । गण्डकी प्रदेशका विभिन्न जिल्लामा छनौट भएका टोलीहरू बीच प्रदेशस्तरीय प्रस्तिपर्धा गराइएको अध्यक्ष शर्माले जानकारी दिए । जसमा कास्कीका सर्वाधिक १० टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता टोली नगद १ लाख मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । दोस्रो हुने टोलीले नगद ५० हजार मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने हिसान गण्डकी प्रदेशका अध्यक्ष डा. शर्माले जानकारी दिए। त्यसै गरी कलेजतर्फको बिजेताले नगद २० हजार र दोस्रो हुने टिमले नगद १० हजार मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
प्रतियोगिता सम्पन्न गर्न करिब १० लाख खर्च लाग्ने आयोजकले जनाएको छ । प्रतियोगिताको प्रथम पुरस्कार युआरएलले प्रायोजन गरेको छ भने दोस्रो पुरस्कार हिसान कास्कीले प्रायोजन गरेको छ ।
