
पोखरा, ७ साउन । नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा “मौलिक संस्कृतिको जगेर्ना गरौँ” भन्ने उद्घोषका साथ महान पर्व हरितालिका तीजको अवसरमा तीज महोत्सव संगै राष्ट्रिय महिला भलिवल प्रतियोगिता हुने भएको छ । राष्ट्रको खेलकूद क्षेत्रको विकास र विस्तार गर्ने उद्धेश्यले पोखरामा राष्ट्रिय महीला भलिबल प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।
आगामी भदौ १२ देखी १६ गतेसम्म इन्द्रराज्य लक्ष्मी माविको प्राङ्गणमा सञ्चालन गरिने महोत्सवमा महीला भलिबल प्रतियोगिता सञ्चालन गर्न लागिएको पत्रकार सम्मेलनमा समाजका अध्यक्ष कमलबहादुर थापाले बताए ।
प्रतियोगितामा विभागीय त्रिभुवन आर्मी, सशस्त्र, नेपाल पुलिस क्लब सहित आठ टिमको सहभागिता रहने र विजेताले ट्रफी सहित रु एक लाख १ सय ५५, द्वितीयले रु ६५ हजार पाँच तथा तृतीय हुने टिमले रु २५ हजार पाँच पुरस्कार प्राप्त गर्ने जानकारी दिइएको छ ।
महोत्सव अन्तरगत विद्यालय छात्रा भलिबल, समूहगत तीज गीत प्रतियोगिता तथा अन्तर विद्यालय लोक नृत्य प्रतियोगितामा प्रथम, द्वितीय तथा तृतीय हुने टिमलाई क्रमश रु २५ हजार पाँच, रु १५ हजार पाँच र रु १० हजार पाँचका दरले पुरस्कार प्रदान गरिने प्रचारप्रसार उपसमितिका संयोजक बुद्धिबहादुर खत्री क्षत्रीले बताएका छन । त्यसैगरि खुल्ला एकल नृत्य प्रतियोगितामा प्रथम, द्धितीय तथा तृतीयले रु १० हजार पाँच, सात हजार पाँच तथा पाँच हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
यसै गरि कास्की जिल्ला सितेरियो संघको ब्यवस्थापनमा विभिन्न इभेन्टको नरबहादुर बानिया स्मृति सितेरियो कराते प्रतियोगिता संचालन हुनेछन् । महोत्सव सञ्चालनार्थ करिव ४० लाख ६२ हजार ५०० आम्दानी हुने अनुमान गरिएको छ भने महोत्सवमा ३७ लाख १२ हजार ५०० खर्च हुने तथा विभिन्न कोषहरुमा ३ लाख ५० हजार विनियोजन गर्ने अनुमान आयोजक संस्थाले गरेको जनाएको छ ।
तस्बिरः सुदर्शन रंजित
