
पोखरा स्पोर्टस् । यूवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद (राखेप) अन्तर्गत आर्थिक वर्ष २०७९/०८० का लागि पोखरा रंङ्गशालामा पानीको ओभर हेड ट्याङ्क निर्माण तथा ड्रिलिङका लागि १ करोड विनियोज गरेको छ भने पोखरा रंगशलामा क्रिकेट स्टेडियम निर्माण गर्न २ करोड विनियोजन भएको छ ।
पानीको अभावलाई कम गर्ने संगै रंगशाला परिशरमा पानीको आपूर्ती सहज बनाउन मन्त्रालयले १ करोड विनियोजन गरेको हो । रंगशालामा पानीको आपूर्ती सहज बनाउन दुई–दुई पटक ड्रिलिङ गरिए उक्त ड्रिलिङ विग्रिएपछि पानीको अभाव हुँदै आएको छ ।
यता पोखरा रंगशालामा क्रिकेट स्टेडियम निर्माणका लागि २ करोड विनियोजन गरिएको छ । आव २०७६/०७७ मा समेत २ करोड विनियोजन भएकोमा कुनै काम अघि बढ्न नसकी फ्रिज भएको थियो । राखेपले कोभिडको कारण देखाउँदै काम अघि बढ्न नसकेको जनाएको थियो ।
विनियोजित वजेटमा पोखरा रंगशालामा फल्ड् लाइटको व्यवस्था गर्न ५ लाख विनियोजन गरिएको छ । यो पटक समेत गरी उक्त निर्माण कार्य सम्पन्न गर्न तिन–तिन पटक विनियोजन भइसके पनि त्यसको निर्माण भने अघि बढ्न सकेको छैन । यस अघि आव २०७६/०७७ र २०७७/०७८ मा ५–५ करोड विनियोजन गरिएको भए पनि उक्त निर्माण कार्य रकम अपुग हुँदा फ्रिज भएको हो । तर यो पटक भने बजेटमा नै ४ करोड ५० लाख घटेर आए पछि फल्ड् लाइट निर्माण कार्य अनिश्चित हुने भएको छ ।
यसै गरी पोखरा रंगशालाको थप निर्माण कार्य सम्पन्न गर्न ५० लाख र पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि ५ लाख विनियोजन गरिएको छ ।
पोखरा रंगशालामा पौडी पोखरी निर्माणका लागि पटक–पटक आवाज उठाइए पनि त्यसको सम्वोधन यस पटक पनि हुन सकेन । बजेटमा पोखरा रंगशालामा नवौं राष्ट्रिय खेलकुदको तयारी स्वरुप हिटिङ स्विमिङ पुल निर्माण गर्न जम्मा ५ लाख विनियोजन गरिएको छ । बजेट शिर्षकमा भनिएको छ–“हिटिङ पौडी पोखरी निर्माण पोखरा रंगशाला कास्की(नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि खेलकुद पूर्वाधार निर्माण तथा मर्मत–५ लाख) ।”
आर्थिक वर्ष २०७७/०७८ मा हिटिङ पौडी पोखरीका लागि ५ करोड विनियोजन गरिएको भए पनि ३८ करोड भन्दा वढी लागतका लागि बजेट शुनिष्चितता हुन नसके पछि रकम फिर्ता गएको थियो । तर यो पटक बजेटमा नै ४ करोड ५० लाख घटेर आए पछि पोखरा रंगशालामा पौडी पोखरी निर्माण कार्य अनिश्चित हुने भएको छ ।
बजेटमा कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुद पूर्वाधार निर्माणका लागि १ करोड विनियोजन गरिएको भए पनि पोखरामा हुने नवौंको तयारीका लागि १० लाख विनियोजन गरिएको छ भने लेखनाथस्थित भण्डारढिक खेल मैदानका लागि १५ लाख र पोखरा १६ स्थित बाटुलेचौर भलिबल÷ह्याण्डबल पार्केटिङ निर्माणका लागि १० लाख विनियोजन गरिएको छ ।
पोखरा २३ वाम्दी भलिबल ग्राउण्ड तारजाली जाली निर्माणका लागि १० लाख विनियोज गरिएको उल्लेख छ । पोखरा २१ कृस्ती मालागिरी खेल मैदान निर्माणका लागि राखेपले १० लाख खर्च गर्दैछ भने पोखरा २० स्थित तोपढाप हाइ अल्टिच्यूड खेल मैदानमा समेत १० लाख विनियोजन गरिएको छ ।
