
पोखरा स्पोर्टस । नेपालमा नै पहिलो पटक चाइना नेपाल विश्वविद्यालयस्तरीय मैत्रीपूर्ण छात्रा बास्केटबल प्रतियोगिता पोखरामा शुक्रबारबाट सुरू भएको छ । तीन दिन सम्म सञ्चालन हुने प्रतियोगिताको एक कार्यक्रमका बीच पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले गरेका हुन् । पोखरा रंगशालामा आयोजित उक्त प्रतियोगिताको उद्घाटनका क्रममा मेयर आचार्यले विश्वविद्यालयका बीच पहिलो पटक सुरू भएको प्रतियोगिताले दुई देश बीचको सम्बन्ध बलियो बनाउन भूमिका खेल्ने बताए ।


ड्रागन रेस पछि सुरू भएको बास्केटबल प्रतियोगिताले नेपाली खेलाडीहरुले समेत सिक्ने अवसर प्राप्त गर्ने जनाउँदै खेलकुदको माध्याबाट पोखराको पर्यटनको जगलाई बलियो बनाउन समेत सहयोग पुग्ने उल्लेख गरे ।
उद्घाटन कार्यक्रममा प्रदेश खेलकुद परिषदका उपाध्यक्ष एवं गण्डकी प्रदेश बास्केटबल संघका अध्यक्ष धोज कुमार गुरुङले तीन दिनको खेलले दुई देश बीचको सम्वन्धमा अझै नयाँ उचाई थप्ने विश्वास व्यक्त गर्दै यूवा खेलाडीहरुले सिक्ने अवसर संगै गण्डकी प्रदेशको खेलकुद विकासमा समेत अहम भूमिका खेल्ने बताए ।
यसै बीच प्रतियोगिताको पहिलो दिन दुई खेल सम्पन्न भएका छन् । उद्घाटन खेलमा चिन युनान प्रान्तको नर्मल विश्वविद्यालयले कास्की जिल्ला बास्केटबल माथी हावी हुँदै ५८–२९ को स्कोरले जित हासिल गर्न सफल भयो ।
त्यसै गरी अर्को एक खेलमा गोल्डेन गेट इन्टरनेशनल कलेजले पोखराको प्रतिभा मावीलाई ५६–१४ को स्कोरले पराजित गरेको छ ।
आयोजक गण्डकी प्रदेश बास्केटबलले पोखरा स्पोर्टसलाई जनाए अनुसार भोली दोस्रो दिन दुई खेल हुनेछन् । मैत्रीपूर्ण खेल भनिए पनि प्रतियोगितामा बिजेता टिम तथा खेलाडीहरुलाई नगद पुरस्कार ३० हजार, २० हजार, १० हजार, ५ हजार सहित ट्रफी, मेडल तथा प्रमाणपत्र समेत प्रदान गरिने छ ।
खेल कुटनितीमा पोखरालाई आफ्नो थलो बनाउन अघि बढेको चिन पहिलो पटक देशकै ठूलो रंगशाला पोखरा रंगशालामा बास्केटबलका माध्यमबाट प्रवेश गरेको छ । यस अघि चिनले क्रस कन्ट्रि दौड र ड्रागन बोट रेस आयोजना हुँदै आइरहेको छ ।
फोटोः प्रेम पुन
