
पोखरा स्पोर्टस । पोखरामा पाँचौ सस्करण मनुश्री–भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको तयारी शुरू भएको छ ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा सो प्रतियोगिता २०८३ बैशाख ५ गते देखि ८ गते सम्म पोखरा रंगशालास्थित टेनिस सेन्टरमा सञ्चालन हुने भएको हो ।
प्रतियोगितामा ८, ९, १०, १२, १४, १६ र १८ वर्षमुनि ब्वाइज तथा गर्ल्सतर्फ सिंगल्स/डबल्स गरी विभिन्न इभेन्टमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक लोक बहादुर गुरुङले पोखरा स्पोर्ट्सलाई जानकारी दिएका हुन् । नेपाल टेनिस संघको परिवर्तित नियमनुसार यो वर्ष यू १८ थप गरिएको छ ।
प्रतियोगितामा बिजेता खेलाडीहरुले आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्ने संयोजक गुरूङले जानकारी दिए ।
प्रतियोगिता सम्पन्न गर्न झण्डै ४ लाख खर्च लाग्ने संयोजक गुरूङले बताए । पोखरामा खेल पर्यटन प्रवर्द्धन गर्न तथा युवा खेलाडी उत्पादनका लागि आकषर्ण गर्न प्रतियोगिता महत्वपूर्ण रहेको उनले जनाएका छन् ।
प्रतियोगितालाई मुख्य प्रायोजन कुमार मोहनबहादुर शाहीले गरेका छन् । उनले आफ्ना दुई नातीहरुको नाउँमा यो प्रतियोगितामा प्रायोजन गर्दै आइरहेका छन् ।
प्रतियोगितामा पोखरासहित काठमाण्डौ, चितवन, बुटवलका खेलाडीहरुले भाग लिने टुर्नामेण्ट डाइरेक्टर कुमार अधिकारीले बताए । चौथो मनुश्री भिग्नाजीत जुनियर राष्ट्रिय टेनिस प्रतियोगितामा पोखराका दर्शिल श्रेष्ठ र काठमाण्डौकी सारा पन्तले समान २–२ स्वर्ण जितेका थिए ।