
पोखरा स्पोर्टस । तस्बिर: मिलन तमु / बेलायतमा रहेको तमुहरुको साझा संस्था तमु धिं यूकेले आयोजना गर्ने गोर्खा कपको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । तमु धिंले यहि जुलाई २४ मा क्विइन्स एभेन्यूमा गर्ने भएको १९ औै संस्करणको गोर्खा कपको सम्पूर्ण तयारी पुरा भएको एक पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

तमु धिंका स्पोर्टस सेक्रेटरी क्या.देव घलेले प्रतियोगितामा मुख्य क्याटोगरी तर्फ ३२ र भेट्रान तर्फ १० गरी ४२ टिमको सहभागिता हुने जानकारी दिएका छन । उनले भने–“कोभिड १९ को उच्च सर्तकता अपनाउँदै हामीले गोर्खा कपलाई निरन्तरता दिएका छौं, हामी बेलायतबासीहरुको सानको रुपमा रहेको यो कार्यक्रमलाई सफल बनाउन सवैको सहयोग रहनेछ,” उनले थपे–“हामी कोभिडका कारण लामो समय घर भित्र नै वस्न वाध्य भयौं, यो कार्यक्रम मार्फत हामी एकै थलोमा आफ्ना साथी भाइहरु दुःख सुःख साटन चाहन्छौ ।”
विश्व महामारी कोभिड १९ का कारण एक वर्ष स्थगित भएको गोर्खा कपमा करिव ३५ हजार ३ सय ९३ पाउन्ड खर्च हुने र ३७ हजार ३ सय ५४ पाउण्ड वचत हुने तमु धिं युकेले जनाएको छ । विशेष गरी वार्षिक रुपमा पर्वको रुपमा आयोजना हुने उक्त कार्यक्रम मार्फत १८ वर्ष भन्दा माथीका यूवाहरुलाई फुटबल तर्फ आकर्षण गर्दै कुलतबाट टाढा राख्ने कार्यक्रमको मुल उद्धेश्य रहेको संस्थाले जनाएको छ ।
प्रतियोगितामा उपाधी विजेता मुख्य क्याटोगरी तर्फको टिमले नगद रु २ हजार ५ सय पाउण्ड र उपविजेताले १ हजार ५०० सय पाउण्ड प्राप्त गर्नेछ । त्यसै गरी भेट्रानतर्फ उपाधी विजेताले १ हजार २ सय र उपविजेताले ७ सय पाउण्ड प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितालाई सफल बनाउन आइडिया नेपाल, ग्यारियन व्रिगेड, रोशमरो वोरो काउसिन्ल लगायत दर्जनौ व्यक्ति तथा संस्थाहरुले सहयोग गरेका छन ।
तमु धिंले कार्यक्रम सफल बनाउन अध्यक्ष हितकाजी गुरुङको अध्यक्षतामा ७१ सदस्यिय आयोजक समिती गठन गरेको पत्रकार सम्मेलनमा जानकारी गराउँदै आयोजना स्थलमा शुरक्षा लगायतका प्रवन्धहरु मिलाइएको बताइएको छ । पत्रकार सम्मेलनमा बोल्दै संस्थाका अध्यक्ष गुरुङले हरेक वर्ष मे महिनामा आयोजना हुने गोर्खा कप एक वर्ष स्थगित गर्दै यो वर्ष जुनमा गर्न लागिएको बताए । उनले भने–“हामी कोभिडका कारण निकै अप्ठयारो परिस्थितीमा थियौं सरकारले समेत कार्यक्रमलाई साथ दिने भए पछि आयोजना गर्ने निष्कर्षका पुगेका हौं ।”
अध्यक्ष गुरुङले ११ औं निर्वाचित कार्यसमितीको पहिलो कार्यक्रम भएकोले सबैले साथ र सहयोग दिएर सफल बनाउन आग्रह समेत गर्दै भने–“यो तमु धिंले आयोजन ागर्ने भए पनि यो बेलायतमा रहेका सबै नेपालीहरुको साझा कार्यक्रम भएकोले एक जुट भएर सफल बनाउन म आह्वान गर्दछु ।”
पत्रकार सम्मेलनमा तमु धि यूकेका संस्थापक अध्यक्ष मिन प्रसाद गुरुङ, गैर आवाशिय नेपाली संघ यूकेका अध्यक्ष पुनम गुरुङ, संस्थाका पूर्व अध्यक्ष ग्याम गुरुङ, निवर्तमान अध्यक्ष नन्दजङ्ग गुरुङ, संस्थाका पदधिकारीहरु, सहारा यूकेका अध्यक्ष कुमार गुरुङ, सहारा यूकेका उपाध्यक्ष ले.कुशाङ गुरुङ, तमु धिका सल्लाहाकार एकेन्द्र गुरुङ, मिडिया संयोजक एसके कुमार गुरुङ लगायतको सहभागिता रहेको थियो ।
गोर्खा कपको कार्यक्रम अन्तर्गत फुटबल खेल संगै नेपाली स्वादिष्ट परिकारहरुको स्टलहरु र विभिन्न जानकारी मुलक स्टलहरु, विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु, प्यारासुट जम्प, पञ्चे बाजा लगायत अन्य नेपाली परम्परागत बाजाहरु लगायतका कार्यक्रमहरु हुनेछन । तमु धिं युकेले आयोजना गर्ने कार्यक्रममा बेलायतमा बस्ने १५ देखि २० हजार नेपालीहरुको जमघट हुने गर्दछ ।
