कास्की शारीरिक सुगठन संघमा सल्लाहकार मनोनयन

पोखरा स्पोर्ट्स । कास्की जिल्ला शारीरिक सुगठन संघले संघलाई प्रभावकारी रूपमा परिचालन गर्न सल्लाहकारहरू मनोनयन गरेको छ ।

संघको शनिबार पोखरा रंगशालामा सम्पन्न बैठकले खेलकुद लगायत विभिन्न क्षेत्रबाट ६ जनालाई सल्लाहकारमा मनोनयन गरेको हो । संघका अध्यक्ष लेख बहादुर गुरुङको अध्यक्षतामा बसेको बैठकले जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङ, समितिका कार्यालय प्रमुख डिबी नेपाली, प्रशिक्षक जीवन घिमिरे, रुपेन्द्र (ल्याक्स) गुरुङ, राजु कुमार थापा र केशव पाठकलाई सल्लाहकारमा चयन गरेको हो ।

यसअघि नै संघले नुना गुरुङलाई संरक्षकमा मनोनयन गरिसकेको छ ।

संघका सचिव निरज तिवारीका अनुसार शारीरिक सुगठन खेलको विकासका लागि युवाहरुलाई आकर्षित गर्ने उद्देश्यका साथ जिल्लास्तरीय प्रतियोगिताको तयारी पनि अघि बढाइएको छ । साथै, संघको कार्यालय व्यवस्थापनका लागि जिल्ला खेलकुद विकास समिति कास्कीमा निवेदन पेश गरिएको जानकारी उनले दिए ।

बैठकमा बोल्दै जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङले खेलकुद क्षेत्रलाई चलायमान बनाउन खेल संघहरूलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा कार्यालय प्रमुख डिबी नेपाली र संरक्षक नुना गुरुङले पनि आफ्ना धारणा राखेका थिए ।

संघका अध्यक्ष लेख बहादुर गुरुङले निकट भविष्यमा जिल्ला स्तरीय प्रतियोगिताको घोषणा गरिने बताउँदै सहकार्यका लागि सबै पक्षसँग आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close