‘छैटौँ एनसेल टाइगर कप भलिबल प्रतियोगिता’ : २२ लाख ६५ हजार बचत

पोखरा स्पोर्ट्स । टाइगर ग्रुप अफ पोखरा नेपालले छैटौँ टाइगर कप अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा तथा पुरुष भलिबल प्रतियोगिता २०८२ को आय–व्यय सार्वजनिक गरेको छ ।

संस्थाले शनिबार एक पत्रकार सम्मेलनको आयोजना गरी आय–व्यय सार्वजनिक गरेको हो । गत माघ ९ देखि १७ गते सम्म आयोजना भएको प्रतियोगिताबाट रु १ करोड ६० लाख ७ हजार ७ सय २५ रुपैयाँ आम्दानी तथा खर्चतर्फ रु १ करोड ३७ लाख ४२ हजार ६ सय १९ गरी कुल २२ लाख ६५ हजार १ सय ६ रुपैयाँ बचत गरेको संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले जनाएका छन् ।

टाइगर कपको यो आम्दनी विगतका पाँच संस्करणहरु भन्दा बढि हो । संस्थाले गत वर्ष भन्दा २ लाख बढि बचत गरेको हो ।

कुल आम्दानी मध्ये टिकट संकलनबाट रु ५९ लाख ४९ हजार २८२ रुपैयाँ आम्दानी भएको संस्थाले जनाएको छ । त्यसै गरी स्वदेश तथा विदेश एवं संघ संस्थाहरुको सहयोगबाट रु ४८ लाख ४३ हजार २८२, मुख्य प्रायोजकबाट रु ३० लाख, प्रदेश खेलकुद परिषद गण्डकीबाट रु १० लाख र पोखरा महानगर पालिकाले रु १० लाख, टिम प्रवेश शुल्कबाट १ लाख ३५ हजार र सिजनल टिकटबाट रु ८० हजार प्राप्त भएको आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष शर्माले बचत भएको रकम सामजिक विकास एवं खेलकुद क्षेत्रको विकासका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । उनले भने–“टाइगर कपमार्फत भलिबल विकासमा सहयोग पुगेको छ भन्ने विश्वास लिएका छौं । यहाँहरुको सबैको सहयोगले प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्न भूमिका खेलेको छ । म स्वदेश तथा विदेशबाट सहयोगी संस्था तथा मित्रहरुलाई पुनः एक पटक यहाँहरु मार्फत आभार व्यक्त गर्दछु ।”

अध्यक्ष शर्माले प्रतियोगिताको सफल आयोजनले पोखरालाई खेल पर्यटनको गन्तव्यका रूपमा थप स्थापित गर्न मद्दत पुगेको उल्लेख गर्दै आगामी दिनमा अझ स्तरीय, प्रभावकारी तथा उत्कृष्ट अन्तर्राष्ट्रिय क्लबहरुको सहभागितामा प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भनेका छन्–“हामी यो विषयमा सोच्दै छौं । नेपाल भलिबल संघको सुझाव अनुसार अघी बढ्नेछौं । टाइगर कपमा स्तरीय अन्तर्राष्ट्रिय क्लब र खेलाडीहरुको सहभागिता हुने छ भन्ने विश्वास दिलाउन चाहन्छौं ।”

सो अवसरमा प्रदेश खेलकुद परिषद गण्डकीको संयोजकमा मनोनयन भएका हरिप्रसाद पराजुली, जिल्ला खेलकुद कास्कीको कोषाध्यक्षमा मनोनित आशिष थापा र गण्डकी प्रदेश भलिबल संघको उपाध्यक्षमा मनोनित विरेन्द्र खडकालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा टाइगर ग्रुपका सचिव डिवी नेपालीले समेत आफ्नो भनाई राखेका थिए ।

छैटौँ एनसेल टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेश भलिबल संघले पुरुषतर्फको उपाधि जितेको थियो भने महिलातर्फ डायमण्ड यूथ स्पोर्ट्स क्लबले उपाधि जितेको थियो ।

उल्लेखनीय के छ, भने छैटौँ टाइगर कप भलिबल प्रतियोगिताको सफल आयोजनमा विश्व भलिबल संघहरुको अन्तर्राष्ट्रिय छाता संस्था एफआइभिबीले समेत प्रशंसा गरेको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close