
पोखरा स्पोर्ट्स । कास्की जिल्ला एथलेटिक्स संघको आयोजनामा पोखरा रंगशालामा सुरु भएको ‘दोस्रो पोखरा ओपन एथलेटिक्स मिट २०२६’ को पहिलो दिन विभिन्न स्पर्धामा खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन् । पहिलो दिन ट्रयाक तथा फिल्डका विविध विधामा प्रतिस्पर्धा सम्पन्न भएको हो ।
पुरुष ४०० मिटर दौडमा गण्डकीका केशव बुढाले ४९.४७ सेकेन्ड समयसहित पहिलो हुँदै स्वर्ण पदक जित्दा नेपाल पुलिस क्लबका आदेश कुमार यादव दोस्रो र एपीएफका सञ्जिव नेपाली तेस्रो स्थानमा रहे । महिला ४०० मिटरमा बागमतीकी भगवती खड्काले १ मिनेट १६ सेकेन्ड समय निकाल्दै स्वर्ण जितिन् भने अमृता आचार्य र कृति गिरी क्रमशः दोस्रो र तेस्रो भए ।
पुरुष ५००० मिटर दौडमा एपीएफ क्लबका रुपेश कार्की १५ मिनेट ७२ सेकेन्ड समयसहित पहिलो भएका छन् । नेपाल पुलिस क्लबका नागेश्वर आहिर दोस्रो र मध्यपश्चिम पृतनाका उमेश बिष्ट तेस्रो स्थानमा रहे । महिला ५००० मिटरमा नेपाल पुलिस क्लबकी सुमित्रा चौधरीले स्वर्ण जित्दा गण्डकीकी निरमाया चौधरी दोस्रो र कोशीकी पदम कुमारी सुनुवार तेस्रो भइन् ।
हाइ जम्प पुरुषतर्फ लालिगुराँस नेशनल एकेडेमीका अभिनास सुनारले १.८५ मिटर जम्प गर्दै पहिलो स्थान हासिल गरे । नेपाल पुलिसका रोशन दनुवार दोस्रो र गण्डकीका आशिष घताने तेस्रो भए । महिलातर्फ गण्डकीकी प्रमिला सुर्खेती १.३३ मिटर जम्प गर्दै विजेता बनिन् भने १.३० मिटर जम्प गर्दै गण्डकीकी करिष्मा महतो दोस्रो तथा सुदुर पश्चिमकी निश्मा राजवंशी १.३० मिटरका साथ तेस्रो भइन् ।
१०० मिटर पुरुष दौडमा नेपाल पुलिस क्लबका आदेश यादव १०.३८ सेकेन्डमा स्वर्ण जित्न सफल भए भने लाली गुराश एकेडेमीका प्रबिन राना १०.४० सेकेण्डको समय लिंदै दोस्रो स्थानमा रहे तथा एपिएफ क्लबका सुशिल केसी तेस्रो भएका छन् । महिला १०० मिटर दौडमा भने सबै पदक आफ्नो पोल्टामा पारेको छ । गण्डकी सीमा चौधरी १२.१६ सेकेन्डमा पहिलो भइन्, अनुश्का अधिकारी दोस्रो र सृष्टि ढेवाजु तेस्रो भए ।
१५०० मिटर महिलामा एपीएफ क्लबकी आशा रावत ४ मिनेट ५३.९८ सेकेन्ड समयसहित पहिलो भइन् भने नारायणी भण्डारी दोस्रो र भगवती खड्का तेस्रो स्थानमा रहिन् । पुरुषतर्फ गण्डकीका बिक्रम पाल ३ मिनेट ५३.७६ सेकेन्डमा विजेता बने, नेपाल पुलिस क्लबका नागेश्वर आहिर दोस्रो र एपिएफ क्लबका सञ्जिप नेपाली तेस्रो भए ।
ट्रिपल जम्प पुरुषतर्फ सुदूरपश्चिमका बिक्रम नाथ १३.७५ मिटर जम्प गर्दै पहिलो भए भने लालीगुरास एकेडेमीका अभिनास सुनार दोस्रो र नेपाल पुलिसका रोशन दनुवार तेस्रो स्थानमा रहे । महिलातर्फ नेपाल पुलिस क्लबकी सीमा चौधरी १२ मिटर जम्प गर्दै विजेता बन्दा लालिगुरासकी अनिषा थारु १०.८० मिटरका साथ दोस्रो स्थानमा चित्त बुझाइन् ।
सटपुट पुरुषतर्फ गण्डकीका दुजिक थापा मगर १२.१९ मिटर थ्रोसहित पहिलो भए । गण्डकीका आशिष रायमाझी दोसो तथा चितवनका ललित राउत तेस्रो बने । महिलातर्फ भने सबै पदक नेपाल पुलिसले आफ्नो नाममा लेखायो । नेपाल पुलिस क्लबकी चन्द्रकला लाम्गादे ११ मिटर थ्रो गर्दै स्वर्ण जितिन् भने उनकै सहकर्मी बसन्ती कुमारी चौधरी र हिरन कुमारी चौधरी क्रमश दोस्रो र तेस्रो भएका छन् ।
प्रतियोगितामा विजेता खेलाडीहरुले क्रमश नगद ५, ३ र २ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । दोस्रो पोखरा एथलेटिक्स मिटमा ३४ इभेन्टमा ३१२ जना खेलाडीहरुले सहभागिता जनाएका छन् ।
प्रतियोगितामा रेडबुल इनर्जी पार्टनर, योर्स ट्रेनिङ र ग्याट्स ट्रेनिङ सेन्टर तथा कफी डे हिमालय एशोसियट स्पोनसरका रूपमा रहेका छन् । सफल दुध न्यूट्रिसियन पार्टनर, सगरमाथा लुम्बिनी इन्सुरेन्स इन्सुरेन्स पार्टनर, ग्रिन डेभलपमेन्ट बैंक बैंकिङ पार्टनर तथा सोल्टी पिउने पानी हाइड्रेशन पार्टनरका रूपमा रहेका छन् ।
प्रतियोगिता अन्तर्गत बाँकी स्पर्धाहरूहरु भोली (सोमबार) सम्पन्न हुने संयोजक सिद्धान्त अधिकारीले जनाएका छन् ।
