
पोखरा स्पोर्ट्स । पोखरा २९ लेखनाथस्थित आदर्श खेल मैदानमा शुक्रबारदेखि सुरु भएको ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’ अन्तर्गत शनिबार पुरुष सेभेन ए साइड फुटबल प्रतियोगिताका सात खेल सम्पन्न भएका छन् भने महोत्सव अन्तर्गत आइतबार राष्ट्रिय डोरी तान महिला तथा पुरुष प्रतियोगिता हुने क्लबका अध्यक्ष विष्णु पुनले जानकारी दिएका छन् ।
प्रचार–प्रसार संयोजक ईश्वर अधिकारीका अनुसार दिनको पहिलो खेलमा भ्यु पोइन्ट एफसी र आर एस पोखरा एफसीबीच कडा प्रतिस्पर्धा देखिएको थियो । निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो, जहाँ आर एस पोखरा ३–२ ले विजयी बन्यो । उक्त खेलमा सदीस कार्की म्यान अफ दि म्याच घोषित भए ।
दोस्रो खेलमा एसएस एपीसीले वाकओभर दिएपछि सूर्यतारा क्लब ‘सी’ सहज रूपमा विजयी बन्यो। तेस्रो खेलमा स्याङ्जा एफसीले काउले एफसीलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै जित हात पार्यो । निर्धारित समयमा गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो।
चौथो खेलमा विपिन एफसी ‘ए’ टिमले रामघाट एफसी सेतोमाथि पेनाल्टी सुटआउटमा २–१ को जित निकाल्यो। यस खेलमा सिदन श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए ।
पाँचौं खेलमा सूर्यतारा क्लब पोखराले नमस्ते पार्टी प्यालेसलाई ३–० को स्पष्ट अन्तरले हरायो । राजकुमार कुँवर उत्कृष्ट खेलाडी घोषित भए । छैटौं खेलमा रामघाट एफसी ग्रीनले आर एस पोखरा एफसीलाई ६–१ को फराकिलो अन्तरले पराजित गर्यो, जसमा सुशान्त गुरुङ म्यान अफ दि म्याच बने ।
शनिबारको अन्तिम खेलमा पोखरा–२९ वडा कार्यालयविरुद्ध स्याङ्जा युथ क्लब १–० ले विजयी भयो । आइत तामाङ म्यान अफ दि म्याच घोषित भए । यसअघि शुक्रबार पाँच खेल सम्पन्न भइसकेका छन् ।
प्रतियोगितामा कुल १८ टिमको सहभागिता रहेको क्लब अध्यक्ष पुनले जानकारी दिए । टिमहरूलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको विजेताले २ लाख २ हजार २ सय २२ रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ ।
महोत्सवमा खुला सामूहिक लोकनृत्य, महिला स्लो स्कुटर रेस, राष्ट्रिय महिला डोरीतान, टेबलटेनिस, एथ्लेटिक्स तथा झाँकी प्रदर्शनी प्रतियोगिताहरू पनि आकर्षणका रूपमा रहेका छन् ।
महिला डोरीतानतर्फ विजेताले ५५ हजार ५५५ रुपैयाँ, उपविजेताले ३३ हजार ३३३ र तेस्रो हुनेले २२ हजार २२२ रुपैयाँ प्राप्त गर्नेछन्। स्लो स्कुटर रेसमा शीर्ष चार स्थान हासिल गर्नेले क्रमशः ३३ हजार, २२ हजार, ११ हजार र ५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।
‘स्पोर्ट्स फर टुरिजम’ भन्ने नारासहित आयोजना गरिएको महोत्सवमा विभिन्न सरकारी तथा निजी संस्थाहरूको सहकार्य र सहयोग रहेको छ । २०७५ सालमा स्थापना भएको क्लबले खेलकुदसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । महोत्सव चैत ३० गतेसम्म सञ्चालन हुनेछ ।
