लिटिल स्टेप माविले यू-१४ सेभेन ए साइड र टेबल टेनिस आयोजना गर्ने

पोखरा स्पोर्ट्स । पोखरा–८ सिमलचौरस्थित लिटिल स्टेप माध्यमिक विद्यालयले यू–१४ सेभेन ए साइड तथा खुला टेबल टेनिस प्रतियोगिता आयोजना गर्ने भएको छ । उक्त प्रतियोगिता विद्यालयले आफ्नै खेलमैदानमा यही चैत २८ र २९ गते आयोजना गर्न लागिएको बिहिबार आयोजित पत्रकार भेटघाटमा जानकारी गराइएको हो ।

विद्यालयकी शिक्षिका एवं खेलकुद शाखा सचिव लक्ष्मी गुरूङका अनुसार सेभेन ए साइडमा ३५ भन्दा बढी टिमको सहभागिता रहने छ भने टेबल टेनिसतर्फ खेलाडी दर्ता प्रक्रिया जारी रहेको छ ।

सेभेन ए साइडतर्फ विजेता टिमलाई नगद ६ हजार, उपविजेतालाई ४ हजार सहित मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै टेबल टेनिसतर्फ प्रथम हुने खेलाडीलाई नगद २ हजार, दोस्रोलाई १ हजार ५ सय र तेस्रोलाई १ हजार सहित मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

सो अवसरमा विद्यालयका सञ्चालक डा. कैलाश तिमिल्सिनाले विद्यार्थीमा खेल भावना, अनुशासन, नेतृत्व क्षमता, टिमवर्क र स्वस्थ प्रतिस्पर्धाको विकासका लागि प्रतियोगिता महत्वपूर्ण हुने बताउँदै विद्यालयले थप यस प्रकारका कार्यक्रमहरु भावी दिनमा समेत तय गर्ने गरी योजना बनाइएको जनाए ।

त्यस्तै संस्थापक प्रिन्सिपल पम्फा गुरूङले विद्यालयले १३ वर्षदेखि यू–१२ ह्यान्डबल प्रतियोगिता निरन्तर आयोजना गर्दै आएको उल्लेख गर्दै अब थप कार्यक्रममार्फत प्रतिभाशाली खेलाडी उत्पादन गर्ने दिशामा विद्यालय अगाडि बढेको बताइन् ।

विद्यालयका संस्थापक अध्यक्ष शेर बहादुर गुरूङले ४४ वर्षको लामो इतिहासमा विद्यालयले निकै फड्को मारेको उल्लेख गर्दै शिक्षा र खेलकुदको विकासका लागि लिटिल स्टेप थप परिमार्जित हुदै नयाँ टिमका साथ अघी बढेको जानकारी दिए ।

सो अवसरमा विद्यालयका स्कुल कोर्डीनेटर बिनोद गिरी र दिल्लीजङ्ग गुरूङले समेत प्रतियोगिताको तयारी बारे जानकारी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close