
पोखरा स्पोर्ट्स । यहि चैत्र २८ देखि ३० गतेसम्म पोखरा उच्च प्रतिस्पर्धा, उच्च उत्साह र नयाँ रेकर्डका लक्ष्यका साथ एथलेटिक्सको महाउत्सवमा बदलिँदैछ । कास्की जिल्ला एथलेटिक्स संघको आयोजनामा हुने दोस्रो पोखरा ओपन एथलेटिक्स मिटमा अहिलेसम्म ३ सयभन्दा बढी खेलाडीले सहभागिता सुनिश्चित गराइसकेका छन् । आयोजक समितिका सचिव सिद्धान्त अधिकारीका अनुसार यो केवल प्रतियोगिता मात्र होइन, रेकर्ड भत्क्याउने होडसमेत हो ।
सन्तोषी श्रेष्ठ : पेरिस ओलम्पियनको नयाँ लक्ष्य-३००० मिटरमा नयाँ इतिहास कोर्ने
पेरिस ओलम्पिकमा म्याराथनतर्फ नेपालको प्रतिनिधित्व गरिसकेकी तथा साग १३ की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठ यसपटक फरक इभेन्टमा चम्किन तयार छिन् । उनले ३००० मिटर दौडमा सहभागी हुँदै १९९० मा राजकुमारी पाण्डेले बेजिङमा बनाएको ९ मिनेट ४८ सेकेन्डको ऐतिहासिक रेकर्डलाई चुनौती दिन खोज्दैछिन् । वर्षको अन्त्यमा उनको फिनिस लाइन कस्तो हुनेछ भन्ने उत्सुकता पोखराभर छाएको छ ।
सोम कुमाल : ८०० मिटरका नटुटेका राजा
सन २०१८ को एशियाडमा १ मिनेट ५०.२५ सेकेन्डको समय निकालेर राष्ट्रिय रेकर्ड राखेका सोम कुमाल पनि पोखरालाई आफ्नो गतिमा झुमाउन तयार छन् । आफ्नै नाममा रहेको रेकर्ड यसपटक आफूले नै तोड्छु कि भन्ने रहस्यलाई उनले ट्रयाकमै खुलाउनेछन् । त्यसको पर्खाइमा आयोजक समेत रहेको छ ।
सलिम देवान : लङ जम्पका स्टार
गत वर्ष पहिलो पोखरा ओपन एथलेटिक्स मिटमै ७.१८ मिटर जम्प गर्दै राष्ट्रिय रेकर्ड बनाएका नेपाली सेनाका सलिम देवान अहिले ७.३५ मिटरको नयाँ व्यक्तिगत रेकर्ड समेत आफै सँग राखेका छन् । उनले सो रेकर्ड सन २०२५ मा भारतको एक प्रतियोगितामा बनाएका थिए । उनी अझ ठूलो छलाङ मार्न आतुर छन् । दोस्रो संस्करणमा उनी पोखरालाई फेरि एकपटक ‘फ्लाइङ मोमेन्ट’ उपहार दिने लक्ष्यमा छन् ।
सिमा चौधरी : महिला लङ जम्पकी राष्ट्रिय इतिहासवाहक
नेपाल पुलिस क्लबकी सिमा चौधरीले ५.८३ मिटरको जम्पमार्फत राष्ट्र रेकर्डकी होल्डर हुन् । उनले पनि यस संस्करणमा आफ्नो सीमालाई पुनः धकेल्ने तयारीका साथ पोखरा आउँदैछिन । नयाँ सपनाका साथ । उनले सो रेकर्ड सन २०२५ मा भारतको एक प्रतियोगितामा बनाएकी थिइन् ।
नारायणी भण्डारी : घरेलु ट्रयाकमै उदाउँदै गरेकी नयाँ तारा
केवल १८ वर्षकै उमेरमा ८०० र १५०० मिटर दुई इभेन्टमा प्रतिस्पर्धा गर्न उत्रने पोखराकी नारायणी भण्डारीलाई आयोजकले ‘भविष्यको स्टार’ का खेलाडीको रूपमा हेरेका छन् । १५औँ राष्ट्रपति रनिङ शिल्डमा ८०० मिटर राष्ट्रिय रेकर्ड बनाइसकेकी उनी पहिलो संस्करणकी १५०० मिटर स्वर्ण विजेतासमेत हुन् ।
राज्यको कमजोर नीतिले ‘मदर अफ स्पोर्ट्स’ एथलेटिक्सलाई ओझेल परेको अनुशासनजस्तै बनाइदिएको छ । योजनाबिहीनता, लगानीको अभाव र वर्षमा एक दुईवटा मात्र हुने प्रतियोगिताले नेपालका धावक, जम्पर र थ्रोअरहरूको सपनालाई कागजमै सीमित बनाइदिँदा उनीहरूको प्रतिभा ट्र्याकमै कैद भइरहेको अनुभूति हुन्छ ।
नियमित प्रतिस्पर्धाको वातावरण नहुँदा रेकर्ड तोड्ने आकांक्षा बिस्तारै ‘उमेर’ नामक प्रतिस्पर्धीसँगै ढल्किँदै जान्छ । समय कसैको पर्खाई गर्दैन, तर खेलाडीहरू भने यिनै अवसरहरूको प्रतीक्षामा दिन, महिना र वर्ष गनिरहेका छन्, जहाँ उनीहरूको यात्रा दौडभन्दा बढी पर्खाइको कथा बन्न पुगेको छ ।
तर दोस्रो पोखरा ओपन एथलेटिक्स मिट केवल प्रतिस्पर्धा होइन, यो आशा, साहस र सम्भावनाको मंच बनेर ति खेलाडी माझ उदाएको छ । यो ट्रयाकमा केवल पाइलामात्र चल्ने छैनन्–सपनाहरू दौडिनेछन्, रेकर्डहरू चिरिनेछन्, र पोखराको हावामा नयाँ इतिहासको सुगन्ध घुल्नेछ ।