
पोखरा स्पोर्ट्स । नेपाली भेट्रान टेनिस खेलाडी सिमान्त गुरुङले एनसीटीसी–आईसीएस युनिटी गेम्समा दोहोरो स्वर्ण जितेका छन् । अस्ट्रेलियाको मेलबर्नमा भएको प्रतियोगितामा सिमान्तले भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्स र डबल्समा स्वर्ण जितेका हुन् ।
नेपाली कम्युनिटी टेनिस क्लब (एनसीटीसी) द्वारा आयोजित प्रतियोगिताको सिंगल्समा सिमान्तले अनुप गुरुङलाई पराजित गरे । डबल्समा सिमान्तले अशोक गुरुङसंग मिलेर अनुप गुरुङ र कुमार खत्रीको जोडीलाई हराए । इन्टरमिडिएट सिंगल्समा दीपेश घिमिरेले भीष्म गौतमलाई पाखा लगाउदै विजेता बने ।
विजेतालाई एनसीटीसीका अध्यक्ष केशव खत्रीलगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे । अध्यक्ष खत्रीले नेपाली टेनिस समुदायलाई जोड्ने लक्ष्यका साथ प्रतियोगिताको सुरुआत गरिएको बताए ।
आयोजक क्लबका सचिव भीष्म गौतमले भविष्यमा अझ ठूला कार्यक्रमहरू आयोजना गर्ने लक्ष्य रहेको बताउदै प्रतियोगिताले नेपाली खेलकुद समुदायमा एकता र उत्कृष्टताको नयाँ सन्देश दिने विश्वास व्यक्त गरे ।