
पोखरा स्पोर्ट्स । नेपालमा महिला फुटबलको व्यावसायिक विकासलाई लक्षित गर्दै आर.एस. बिच पोखरा फुटबल क्लबले आयोजना गर्न लागेको ‘पहिलो पोखरा महिला गोल्डकप’ को तयारी तीव्र गतिमा अघि बढिरहेको क्लबले जनाएको छ । प्रतियोगिता २०८३ साल वैशाख १४ देखि २१ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने तय गरिएको हो ।
क्लबका अनुसार प्रतियोगितामा ए डिभिजनका ८ क्लबहरूको सहभागिता रहने क्लबका अध्यक्ष रमेश कार्कीले जनाएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका अनुभवी खेलाडीहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ, जसले प्रतियोगितालाई अझ प्रतिस्पर्धात्मक तथा आकर्षक बनाउने विश्वास गरिएको छ ।
महिला फुटबलसँगै दीर्घकालीन खेल विकासलाई जोड्दै क्लबले निकट भविष्यमा महिला तथा पुरुष दुवैका लागि फुटबल एकेडेमी सञ्चालन गर्ने तयारी गरिरहेको जनाएको छ । क्लबका अनुसार एकेडेमीमार्फत नयाँ प्रतिभा उत्पादन र खेलकुदको आधार बलियो बनाउने लक्ष्य राखिएको छ ।
यस ऐतिहासिक प्रतियोगितालाई भव्य र सफल बनाउन क्लबले करिब ४५ लाख रुपैयाँको अनुमानित बजेट निर्धारण गरेको छ । कार्यक्रमलाई आर्थिक रूपमा सफल बनाउन विभिन्न आम्दानीका स्रोतहरू पहिचान गरिएको क्लबले जानकारी दिएको छ । प्रतियोगितामा उपाधि बिजेताले नगद रु ५ लाख र उपविजेताले ३ लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
मुख्य आम्दानीका स्रोतमा मुख्य तथा सह-प्रायोजन, सरकारी सहयोग, टिकट बिक्री, विज्ञापन तथा होर्डिङ बोर्ड, डिजिटल र मिडिया पार्टनरसिप, तथा व्यक्तिगत तथा संस्थागत सहयोग समावेश छन् ।
संकलित रकम पुरस्कार राशि, खेलाडीहरूको आवास तथा भोजन, प्रशिक्षण, खेल चिकित्सा सेवा तथा प्रतियोगिताको प्राविधिक व्यवस्थापनमा खर्च गरिने क्लबले जनाएको छ ।
क्लबले महिला सशक्तीकरण र खेलकुद विकासमा योगदान दिन इच्छुक सबै व्यावसायिक तथा संस्थागत साझेदारहरूलाई सहयोग–समर्थनका लागि आग्रह गर्दै ऐतिहासिक महिला गोल्डकप सफल बनाउन सबैको साथ आवश्यक रहेको उल्लेख गरेको छ ।