१३औं सागमा थन्किएको ह्याण्डबल ‘स्कोर बोर्ड’ सञ्चालन गर्ने तयारी

पोखरा स्पोर्ट्स । १३औं दक्षिण एसियाली खेलकुद (साग) सकिएको पनि ७ वर्ष पुरा भयो । काठमाण्डौ, पोखरा र जनकपुरमा आयोजना भएको १३औं साग अन्तर्गत भारत, चीनलगायत देशहरुबाट राष्ट्रिय खेलकुद परिषद (राखेप)ले विभिन्न खेल सामाग्रीहरु खरिद गर्‍यो । तर सो बेला खरिद गरिएका सामाग्रीहरु कतीपय प्रयोगमा आए कति आएनन ।  ती सबै गोदाममै थन्किएर र मिल्किएर बसे ।

त्यस्तै सो बेला खरिद भएको मह्तवपूर्ण सामाग्री थियो–ह्याण्डबलको डिजिटल स्कोर बोर्ड । अन्तर्राष्ट्रिय ह्याण्डबलको नियम अनुसार स्कोर बोर्ड अनिवार्य थियो । राखेपले भारतबाट स्कोर बोर्ड खरिद गरेर पोखरा सम्म ल्यायो । तर प्राविधिक कारणले सो बोर्ड प्रयोगमा आउन सकेन । जुन दिन पोखरा रंगशाला स्कोर बोर्ड ल्याइयो साग सकिएको आठ वर्ष देखी थन्किएर बस्यो ।

तर अब जिल्ला खेलकुद विकास समिति कास्कीले लाखौं रुपैयाँमा खरिद गरेर ल्याइएको सो स्कोर बोर्ड प्रयोगमा ल्याउने भएको छ । जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरूङ, कार्यालय प्रमुख डिबी नेपालीले सो बोर्ड बारे चासो राख्दै सो बोर्ड बहुउद्धेश्यिय कभर्डहलमा प्रयोगमा ल्याउने तयारी गरिरहेको बताएका छन् ।

“जुन कार्यको लागि यो स्कोर बोर्ड ल्याइएको हो अब यो प्रयोगमा ल्याउँछौं,” समितिका अध्यक्ष गुरूङले भने,“राज्यको ढुकुटीबाट खरिद भएको सामग्री बेकार बस्नु लाजमर्दो हो । अब यसलाई ह्याण्डबल मात्र होइन अन्य खेलका लागि पनि प्रयोगमा ल्याउने छौं ।”

यता कार्यालय प्रमुख नेपालीले पोखरा रंगशालामा थन्किएर बसेका वा कवाडीमा पठाउन लागिएका सामाग्रीहरु पुनः प्रयोगमा ल्याउने गरी तयारी गरिएको र ती सामाग्रीहरुको सूची समेत तयार गर्न लागिएको जानकारी दिए ।

एक दिन र एक खेलमा पनि प्रयोगमा नआएको यस स्कोर बोर्डमा टिमको नाम, लोगो, खेलको समय, मिति लगायत आवश्यक सबै विवरण देखाउने सुविधा छ । ह्याण्डबल, फुटसल, भलिबल, बास्केटबल लगायत अन्य खेलका लागि बहुउद्देश्यीय कभर्डहलमा यसको प्रयोग अत्यन्त उपयोगी हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close