
पोखरा स्पोर्ट्स । गण्डकी प्रदेश टेनिस संघको आयोजना तथा प्रदेश खेलकुद परिषद्, गण्डकीको सहयोगमा पोखरास्थित पोखरा टेनिस सेन्टरमा १०औँ राष्ट्रिय छनोट खेलकुद अन्तर्गत टेनिस प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ ।
पुरुष एकलतर्फको फाइनल खेलमा नेपालका नम्बर १ खेलाडी प्रदीप खड्काले दर्शिल श्रेष्ठ लाई ६–३, ६–२ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारे । खड्काले सुरुदेखि नै आक्रामक खेल प्रदर्शन गर्दै सहज जित निकालेका थिए ।

महिला एकलतर्फ साल्भी शेरचनले रोमिका बुद्धाचार्य लाई ६–३, ७–६, (७–३) ले पराजित गर्दै उपाधि जितिन् । दोस्रो सेट निकै प्रतिस्पर्धात्मक बनेको थियो, जहाँ टाइब्रेकमा साल्भीले उत्कृष्ट प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पारिन् ।
पुरुषतर्फ तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा साश्वत बज्राचार्यले अनिल साई लाई ५–७, ६–२, (१०–३) को नतिजामा हराउँदै तेस्रो स्थान सुरक्षित गरे । महिलातर्फको तेस्रो स्थान आरुषी तुलाचनले हासिल गरिन् ।
बिजेता खेलाडीहरुलाई प्रदेश खेलकुदका सदस्य दिल बहादुर गुरूङ, गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष बिनोद कायस्थ, उपाध्यक्ष लोक बहादुर गुरूङलगायतले मेडल वितरण गरेका थिए । चार दिन देखि सञ्चालन भएको प्रतियोगितामा १३ जना पुरुष र ८ महिला गरी २१ जना खेलाडीहरुको सहभागिता रहेको थियो ।
प्रतियोगिताले गण्डकी प्रदेशमा टेनिस खेलको विकास र राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजकले व्यक्त गरेको छ ।
