
पोखरा स्पोर्ट्स/तस्बिरः सुदर्शन रञ्जित । पोखरामा जारी २५औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा उज्बेक टोली आभा एफसीले सेमीफाइनलमा स्थान बनाउन सफल भएको छ ।
मंगलबार भएको अन्तिम क्वार्टरफाइनलमा प्रतियोगितामा बलियो मानिएको प्लानिङ ब्वाइज युनाइटेडलाई १–० गोले पराजित गर्दै आभा एफसीले सेमीफाइल यात्रा शुरक्षित गरेको हो ।
हाफ टाइमसँग दुबै टिम बराबरीमा खेलेका थिए । तर दोस्रो हाफको ५६औं मिनेटमा आभा एफसीका लागि उमिदजोन कारकोभले उत्कृष्ट गोल गर्दै टोलीलाई जिततर्फ अघि बढाए । उनको कडा प्रहारलाई किपर योगेश धिमालले रोक्ने प्रयास पूर्णरुपमा असफल भयो ।
प्लानिङ ब्वाइजले खेलको अन्त्यतिर बराबरी गोल फर्काउने अवसर पाए पनि सफल हुन सकेन । ८९औं मिनेटमा रामबाबु कुमार शाहको प्रयास असफल रह्यो । अतिरिक्त समयको दोस्रो मिनेटमा फागुराम थारुको फ्रि–किकलाई आभाका गोलकिपर जासुरबर्क राजावेभले उत्कृष्ट बचाउ गर्दै टोलीको अग्रता जोगाए ।
खेलमा एकमात्र गोल गर्दै टोलीलाई सेमीफाइनल पुर्याएका उज्बेक खेलाडी उमिदजोन ‘प्लेयर अफ दि म्याच’ घोषित भए । उनले नगद रु १० हजारसहित ट्रफी प्राप्त गरे ।
भोलीबुधबार पहिलो सेमीफाइनल खेल आयोजक सहारा क्लब पोखरा र मनाङ मर्स्याङदीका बीच हुनेछ ।
