थन्डरबोल्टलाई १–० ले स्तब्ध पार्दै मनाङ सेमिफाइनल प्रवेश

पोखरा स्पोर्ट्स/तस्विरः सुदर्शन रञ्जित । २५औँ आहा! रारा पोखरा गोल्डकप अन्तर्गत आज सम्पन्न क्वार्टरफाइनल खेलमा मनाङ मर्स्याङदीले भारतको सिक्किमबाट आएको थन्डरबोल्ट नर्थ युनाइटेडलाई १–० गोलले स्तब्ध पार्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो । दुवै टिमले आक्रमक प्रदर्शन गरे पनि पहिलो हाफ र दोस्रो हाफमा गोलरहित बराबरी भएको थियो ।

अतिरिक्त समयको १०६औँ मिनेटमा मनाङका आशिष क्षेत्रीले निर्णायक गोल गर्दै टोलीलाई अग्रता दिलाए । कर्नर किकमार्फत सहकर्मीबाट आएको उत्कृष्ट प्रहारलाई आशिषले शक्तिशाली हेडमार्फत जाली चुमाउँदै मनाङलाई महत्वपूर्ण जित दिलाएका हुन् । उक्त गोल नै खेलको निर्णायक गोल सावित भयो ।

खेलको ९७औँ मिनेटमा थन्डरबोल्टका सुरग क्षेत्रीले प्रहार गरेको शक्तिशाली प्रहार गोलपोस्टमा लागेर फर्किएको थियो । सुरगको प्रहार गोललाइन टच गर्दै रिबाउन्डमा आएको बललाई मनाङका गोलरक्षक विशाल केसीले क्लियर गरेका थिए । सो प्रहार गोलमा परिणत हुन नसक्दा थन्डरबोल्ट खेलमा फर्किन असफल रह्यो ।

उत्कृष्ट प्रदर्शन गर्दै निर्णायक गोल गरेका आशिष क्षेत्री ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

यस जितसँगै मनाङ सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ । अब मनाङले आयोजक टोली सहारा क्लब पोखरासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

भारतको सिक्किमबाट दोस्रो पटक सहभागिता जनाएको थन्डरबोल्ट नर्थ युनाइटेडले पनि प्रतियोगितामा सशक्त प्रदर्शन गरे तापनि महत्वपूर्ण अवसर सदुपयोग गर्न नसक्दा प्रतियोगिताबाट बाहिरिन बाध्य भयो ।

पोखरामा जारी प्रतियोगिता निकै प्रतिस्पर्धात्मक बन्दै गएको छ भने दर्शकको उल्लेख्य उपस्थितिले खेलको रोमाञ्च थप बढाएको छ ।

यसै बीच भोली (मंगलबार) बिदेशी टोली आभा एफसी उज्बेकिस्तान र प्लानिङ ब्वाइज युनाइटेडका बीच अन्तिम सेमीफाइनल खेल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close