
पोखरा स्पोर्ट्स । जारी टी-२० विश्वकपमा नेपालले लगातार तेस्रो खेलमा हार बेहोरेको छ । आइतबार सम्पन्न वेस्ट इण्डिजसँग नेपाल ९ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १३४ रनको लक्ष्य पछाएको वेस्ट इण्डिजले १५ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
वेस्ट इण्डिजका लागि शाइ होपले अविजित ६० रन बनाए भने शिमरोन हिटमायरले अविजित ४६ रन बनाएका थिए । त्यस्तै ब्राण्डन किंगले २२ रन बनाएका थिए । नेपालका लागि एक विकेट नन्दन यादवले लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १३३ रन बनाएको थियो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले शानदार अर्धशतकीय पारी खेल्दै नेपाललाई सम्मानजनक अवस्थामा पुर्याएका थिए । दिपेन्द्र विश्वकपमा अर्धशतक बनाउने दोस्रो नेपाली खेलाडी बनेका छन् । ऐरीले ४७ बलमा ५८ रन बनाएका थिए ।
त्यस्तै सोमपाल कामीले अविजित २६ रन बनाए भने लोकेश बमले १३, गुलशन झा र आसिफ सेखले ११- ११ रन बनाएका थिए । त्यस्तै कुशल भुर्तेलले १, कप्तान रोहित पौडेलले ५, आरिफ सेखले २ रन बनाएका थिए । त्यसैगरी वेस्ट इन्डिजका बलर जासन होल्डरले ४ विकेट लिए भने अकील हुसैन, माथ्युज फोर्ड, शामर होल्डर र रोस्टन चेजले एक एक विकेट लिएका थिए ।
यो जितपछि वेस्ट इण्डिजले लगातार तीन जित हासिल गर्दै सुपर आठमा पुगेको छ । त्यस्तै नेपाल भने विश्वकपमा सुपर आठको दौडबाट बाहिरिएको छ । अब नेपालले आफ्नो अन्तिम खेल स्कटल्याण्डविरुद्ध मंगलबार खेल्ने छ ।
